हवाई सुरक्षामा हेलिकप्टर र साना जहाज मुख्य चुनौती

140

कान्तिपुर दैनिक
साउन ३१,
काठमाडौँ । नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राममुनिका साना जहाज ‘चुनौती’ देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको १० वर्षे प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले त्यसतर्फ संकेत गरेको छ । हेलिकप्टर दुर्घटनाले विश्वको ध्यान तानेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । युरोपियन युनियन ९ईयू० ले पनि पछिल्लो समय हेलिकप्टर सुरक्षाप्रति प्रश्न गरिरहेको उनको भनाइ छ । प्रतिवेदनअनुसार १० वर्षमा हेलिकप्टर दुर्घटना र मृत्युदर बढेको छ ।

यस अवधिमा १० वटा हेलिकप्टर दुर्घटना भएका र त्यसमा पर्यटनमन्त्रीसहित ३० जनाको ज्यान गएको थियो । नेपालमा दुर्गम तथा पहाडी भेगका लागि चार एयरलाइन्स र १० वटा हेलिकप्टर कम्पनी छन् । दुर्गममा नियमित उडानको तुलनामा हेलिकप्टर चार्टर उडान बढिरहेको महानिर्देशक पोखरेलको भनाइ छ । ‘नेपालमा दर्ता भएका ५७ सय किलो हाराहारी तौल वा त्योभन्दा कम तौलका जहाज र हेलिकप्टरको दुर्घटना दर बढी छ,’ उनले भने । पछिल्लो पटक ईयूको चासो हेलिकप्टरतर्फ मोडिएको छ ।