साउदी विमानस्थलमा आक्रमण, एक जनाको मृत्यु, २१ जना घाइते

78

एजेन्सी,असार ९,
रियाद । साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु हुनुका साथै अरु २१ जना घाइते भएको साउदी अधिकारीहरुले बताएका छन् ।

इरानसँगको तनाब बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तिब्र बनाएका छन् । पछिल्लो आक्रमणबाट म्याकडोनाल्डको एक पसलका साथै १८ वटा सवारी साधनमा क्षति पुगेको छ । यमनका हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइन्छ । विमानस्थलमा गरिएको आक्रमणबाट घाइते भएकाहरुमा साउदी अरेबिया, इजिप्ट, भारत र बंगलादेशका नागरिकहरु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

विद्रोहीले सञ्चालन गरेको अल–मासिराह टिभीले अभा र जिजान विमानस्थलमा ड्रोनबाट आक्रमण गरिएको दाबी गरेको छ । साउदी अरेबियाले भने जिजान विमानस्थलमा भएको आक्रमणबारे केही उल्लेख गरेको छैन । जुन १२ मा पनि अभा विमानस्थलमा हुथी विद्रोहीले ड्रोनबाट आक्रमण गरेका थिए । उक्त आक्रमणबाट २६ जना घाइते भएका थिए ।