होशियारः हरेउले डसेर दैनिक डेढ दर्जन बिरामी

178

कान्तिपुर दैनिक
असार ७, काठमाडौँ । तापक्रम वृद्धि भएसँगै काठमाडौंसहित आसपास जिल्लामा सर्पले डसेर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या बढेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुर, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लाबाट दैनिक १८ जनाभन्दा बढी बिरामी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु आइपुग्ने परेका छन् । यसरी आउनेमा कृषि, रोपाइँ, बगैंचा र झारपातमा काम गर्ने महिलाको संख्या धेरै छ ।

चिकित्सकका अनुसार यस्ता बिरामी मुख्य रूपले ‘हर्रोरहरेउ’ भनिने ‘ग्रिन पिट भाइपर’ सर्पको डसाइबाट प्रभावित भएका छन् । उनीहरूमा रगत जम्ने प्रक्रियामा अवरोध, सुन्निने, पानी फोका आउने, असाध्य दुख्ने, चक्कर आउने, कमजोरी आदि समस्या देखिने गरिएको छ । टेकु अस्पतालका डा।शेरबहादुर पुनका अनुसार हर्रो सर्पको डसाइ साइटो र हिमोटक्सिक भएकाले यसले शरीरको तन्तु र रगत जम्ने प्रक्रियालाई असर पार्छ, आन्तरिक रक्तश्राव गराउन सक्छ ।

यसको विषमा हिमो टक्सिक गुण सबैभन्दा बढी हुने भएकाले रक्त सञ्चारमा धेरै असर गर्ने नेचुरल हिस्ट्री म्युजियमका पूर्वनिर्देशक एवं उभयचर र सरिसृप विशेषज्ञ प्रा।करनबहादुर शाहले बताए । ‘यो विषालु सर्प भए पनि मान्छे मार्ने खालको होइन,’ उनले भने । उनका अनुसार उपत्यकालगायत छेउछाउका जिल्लामा करिब ५–६ प्रजातिको ग्रिन पिट भाइपर पाइन्छ । केही समयअघिसम्म माउन्टेन पिट भाइपरको टोकाइ बढी देखिने गरेको उनले बताए । माउन्टेन पिट भाइपर पनि हरेउजस्तै रहेको शाहले औंल्याए । गोमन सर्पको १२ मिलिग्राम, करेतको ६ मिलिग्राम र सेल भाइपरको १५ मिलिग्राम विषले मान्छेको मृत्यु हुन्छ भने ग्रिन पिट भाइपरको १०० मिलिग्राम विषले मात्रै मृत्यु हुन सक्छ । यसले एकपटक टोक्दा ६० मिलिग्रामभन्दा बढी विष शरीरमा छोड्न नसक्ने भएकाले सामान्यतया मान्छेको मृत्यु हुँदैन ।