पर्यटन प्रर्वद्धन गर्न रानी सैनामा पुजा

186

राजन रावत, असार ५,
सिमकोट गते । पर्यटकीय संभावना भएको तीन हजार पाँच सय मिटर अग्लो नाम्खा गाउँपालिकाको वडा नम्बर तीनको रानी सैनामा पुजा तथा प्रवचन गरिएको छ । स्थानीय जनतालाई पर्यटन प्रर्वद्धनमा लाग्न र कसरी बढी भन्दा बढी पर्यटकहरुलाई निकै रमणीय दृश्य भएको रानी सैनामा आर्कषण गर्न सकिन्छ भन्ने प्रचार गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो ।

बिहान नौ बजेबाट बेलुका पाँच बजेसम्म संचालन भएको कार्यक्रममा याल्बाङ गुम्बामा लामा पेमा रिक्सालले प्रवचन दिनु भएको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताउनुभयो । स्थानीयबासीको आयोजनामा संचालन भएको कार्यक्रममा गुरुले ज्ञान गुनका बारेमा प्रवचन र पर्यटकीय क्षेत्रलाई विकास र प्रर्वद्धन गर्ने तर्फ लाग्न निर्देशन दिएको उहाँले बताउनुभयो । पुजामा तीन पुस्ता अघिका लामा सेर्ता रिम्पुछेको सम्झना पनि गरिएको थियो । उहाँले पाँच हजार मिटर अग्लो सैपाल हिमालमा रहेको गुम्बा बास बसेर पुजा गर्नु भएको थियो । पुजामा नाम्खा गाउँपालिकाको वडा नम्बर एक देखि पाँच सम्मका स्थानीयको उपस्थिती रहेको थियो । रानी सैनामा सैपाल हिमाल, पाटन, खर्क, भेडाका बथान, हिमश्रृङखला, जंगल, जंगली जनावर लगाएको दृश्यावलोकन गर्न सकिने छ । त्यहाँ गए पछि जो कोही पनि मोहित हुन सक्ने तर प्रचार प्रसारको अभावले रानी सैना छायामा परेकोले यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष लामाले बताउनु भयो ।-gorkhapatraonline.com