असार ५,
काठमाडौँ । ठूलो नदीमाथि ६ सय वर्ष पुरानो पुल । कुनै काठे वा फलामे पुल होइन, घाँसको डोरीबाट बनेको पुल । सुन्दैमा अनौठो लाग्दछ । तर पेरुमा एउटा यस्तै पुल छ । पेरुको कुस्को इलाकामा रहेको अपुरिमेक नदीमा रहेको सो घाँसे पुल बर्सेनि मर्मत गरिन्छ । किनकि हरेक वर्ष त्यो पुल बनाइएका घाँसे डोरीहरु फेर्नुपर्दछ । पुरानो घाँसे पुल हटाएर मानिसहरुले हरेक वर्ष नयाँ घासे पुल हाल्ने गर्दछन् ।
यो पुललाई इंका रोप ब्रिज भनिन्छ । इंका साम्राज्यका बेला बनेको हो त्यो पुल र उक्त साम्राज्यका बेला पुल र बाटो बनाउन सोही प्रविधिको प्रयोग गरिन्थ्यो । हातले बाटेका घाँसको मोटो डोरी नदीको वारपार बाँधेर पुल बनाइएको छ । पछिल्लो ६ सय वर्षदेखि स्थानीय मानिसहरुको खोला वारपार गर्ने माध्यम बनेको छ सोही पुल । रोचक त के भने यो पुललाई सन् २०१३ मा युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ ।
हरेक वर्ष पुलको डोरी फेर्ने क्रममा नदीको वारि र पारि दुवैतर्फका बासिन्दाहरु जुट्दछन् र घाँसका मोटा मोटा डोरी बाट्दछन् । त्यहाँको एउटा अनौठो परम्परा के छ भने घाँसे पुल मर्मतमा केवल पुरुषहरु मात्र सहभागी हुन्छन् । महिलाहरु पुलभन्दा निकै टाढा बसेर स–साना डोरी बाट्ने काम मात्र गर्दछन् ।
मुख्य पुलमा ६ वटा ठूला मोटा डोरीको प्रयोग गरिएको हुन्छ । एक फुटसम्म मोटाइ भएको उक्त डोरी १ सय २० वटा स–साना डोरीहरु एकठाउँ मिलाएर बनाएको हुन्छ ।
पुल बनाउने डोरी बाट्नका लागि कोया इचू नामक निकै बलियो घाँसको प्रयोग गरिन्छ । घाँसलाई काटिसकेपछि पहिले ढुंगाले पिटिन्छ र पछि पानीमा भिजाएर मुलायम बनायन्छ अनि डोरी बाटिन्छ ।