भारतमा किसानले बनाए रुख चढ्ने साइकल

297

एजेन्सी, असार ४,
काठमाडौँ । भारतमा एकजना किसानले रुख चढ्ने साइकल बनाएका छन् । कर्नाटकका एकजना किसानले सजिलोसँग रुख चढ्न सकिने साइकल तयार गरेका हुन् । साइकल आकारको उक्त मेसिनको सहयोगमा जुनसुकै उचाइको रुख सजिलै चढ्न सकिन्छ । कर्नाटकको सजिमामूडा भन्ने गाउँमा बस्ने गणपति भट्ट नामका किसानले यस्तो साइकल तयार गरेका हुन् । यो मेसिन रुखको फेदमा जडान गरेर त्यसमा रहेको सिटमा बसिसकेपछि त्यसलाई चलाएर रुखको टुप्पासम्म पुग्न सकिन्छ ।

यो निकै सजिलो उपयोगी आविष्कार भएको उनको दाबी छ । यो साइकलमा ६० देखि ८० किलो वजन भएका मान्छे चढ्न मिल्दछ । यो मेसिन पेट्रोलबाट चल्दछ र सुरक्षा तथा सावधानीको पर्याप्त बन्दोबस्त गरिएको छ । किसानहरुलाई नरिवल, सुपारीजस्ता सुरिला रुख चढ्न निकै अप्ठेरो पर्ने भएको हुँदा त्यस्ता रुखहरुमा चढ्नका लागि किसानहरुको पहिलो रोजाइमा यो साइकल पर्ने छ ।