समता अस्पतालमा कर्मचारीको मृत्युः मृतकको गोजीमा ३ कर्मचारीको नाम

114
सांकेतिक तस्विर

असार ३,

काठमाडौं । राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव भेटिएपछि आफन्त र स्थानीयले अस्पताल तोडफोड गरेका छन् । घटनाको सत्य, तथ्य छानविनको माग गर्दै भएको आन्दोलनका क्रममा केही अस्पतालका कर्मचारी घाइते भएका छन् भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठी चार्ज गरेको छ । मंगलबार दिनभरको तनावपछि दुई पक्षीय छलफलबाट तामाङको ५ वर्षीया छोराको शिक्षाका लागि सम्पूर्ण व्यवस्था हस्पिटलले गर्ने सहमति भएको छ । सहमतिपछि आन्दोलन मथ्थर भएको काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले बताए ।

गोजीमा भेटियो तीन कर्मचारीको नाम

अनुसन्धानमा खटिएका महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अधिकृतका अनुसार विमलाको गोजीमा एउटा कागजको टुक्रा भेटिएको छ, जसमा अस्पतालकै तीन जना कर्मचारीको नाम उल्लेख छ ।

अंग्रेजी भाषामा लेखिएको त्यो कागजको टुक्राको सत्यताबारे प्रमाणित गर्न प्रहरीले वैज्ञानिक परीक्षण गर्ने तयारी गरेको छ । यद्यपि, प्रारम्भिक अनुसन्धान र सोधपुछका लागि दुई जना कर्मचारी पक्राउ परिसकेका छन् । हाल उनीहरुलाई महानगरीय प्रहरी वृत्त, बौद्धमा राखिएको छ । आन्दोलनकारी उग्र भएपछि प्रहरीले अस्पताल सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीलाई सुरक्षित स्थानमा लगेको थियो । ‘उहाँहरुलाई पक्राउ गरेका होइनौं । आन्दोलनकारीको स्थिति हेरेर सुरक्षित स्थानतर्फ लगेका हौं’, काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले  भने । घटनाको महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर दुवै टोलीले छानविन गरिरहेको छ । -अनलाइनखबर