अत्यधिक गर्मीः जनजीवन अस्तव्यस्त, पानीको मुहान सुुक्दै

259

असार ३,
रौतहट । टन्टलापुर घामसँगै तातो हावा चल्न थालेपछि रौतहटलगायत सम्पुूर्ण तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ । सदरमुकाम गौरलगायत आसपासका ठाउँको तापक्रम ४३ डिग्रीसम्म पुगेपछि स्थानीयको जनजीवन नै अस्तव्यस्त भएको छ । बिहानैबाट शुरु हुने गर्मीले गर्दा खास गरी दैनिक ज्यालादारी गर्ने मजदुर र खेती किसानी गर्नेहरुलाई कठिनाई हुन थालेको छ ।

पछिलो केही दिनदेखि बिहानैदेखि टन्टलापुरको घाम र गर्मीका कारण ‘लु’ लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्या समेत उत्पन्न हुन थालेको कटहरिया नगरपालिका प्रमुख सियाराम कुुश्वाहाले बताए । अत्याधिक गर्मीले गर्दा जिल्लामा रहेका सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्यामा कमी आएको छ भने व्यापार व्यवसाय समेत प्रभावित बनेको छ । सधैँभरी सेवाग्राहीको चाप रहने जिल्ला प्रशासन, मालपोत, भुमिसुधार, जिल्ला अदालत तथा अन्य सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको संख्या घटेको मालपोत कार्यालय मौलापुरका प्रमुख बबुु नन्दन साहले बताए । अति आवश्यक काम पर्ने बाहेकका प्राय मानिसहरु दिउँसो–दिउँसो घर बाहिर निस्कन छाडेका छन । गर्मीका कारण झाडापखाला तथा ज्वरोका बिरामीहरु बढेको जिल्ला अस्पताल गौरले जनाएको छ । ज्वरो तथा झाडापखालाका दैनिक ५० देखि ६० जना नयाँ बिरामीहरु अस्पताल आउने गरेको जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साहले बताए ।

गर्मीले ‘लु’ लाग्ने, मान्छे मुर्छित भएर उच्च रक्तचाप बढेपछि मस्तिष्कघात, हृदयघात, पक्षाघातलगायतका रोग लागेर एकाएक मान्छेको ज्यान जाने सम्भावना समेत रहेको डाक्टर साहले बताए । गर्मीबाट बच्नका लागि झोलपदार्थ बढि खानु, घाममा ननिस्कनु, सितलमा बस्नु, थोरै खानु लगायतका घरेलु प्रविधि अपनाएमा जोगिन सकिने उनको भनाई छ । अत्याधिक गर्मीका कारण जिल्लाभरीका सबै विद्यालयलाई असार ६ गतेसम्म बिदा दिइएको छ । शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय रौतहटले सोमवार सुूचना प्रकाशित गरी जिल्लाका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको हो ।