ऋतिकको सुपर ३० माथि फेरि चार छात्रले हाले मुद्दा

73

एजेन्सी, असार १,
काठमाडौँ । बिहारका गणितज्ञ आनन्द कुमारमाथि बनेको फिल्म सुपर ३० फेरि विवादमा आएको छ । आनन्दका विरुद्ध आइआइटी गुवाहटीका चार छात्रले मुद्दा दर्ता गरेका छन् । अविनाश बरो मोन्जित डोले, विकास दस र धनिराम तावले मुद्दा दर्ता गरेका हुन् । उनीहरूका अनुसार आनन्दले २६ बच्चालाई आइआइटीमा भर्ना गरिदिएको दाबी गलत हो । आनन्दमाथि यो आरोप आठ महिनाअघि पनि लागेको थियो । फिल्म चर्चामा आएपछि फेरि मुद्दा दर्ता भएको हो । यसैबीच, ती छात्रले फिल्मको रिलिज रोक्नुपर्ने माग गरेका छन् । तर, आनन्दले भने आरोप गलत भएको बताएका छन् । उनले ती चार बच्चा कहिल्यै उनको इन्स्टिच्युटमा नआएको बताए ।

आइआइटीमा कोचिङ गराउने संस्था सुपर ३० का १५ छात्र यस वर्ष संयुक्त प्रवेश परीक्षामा सफल भएका छन् । यसअघि, २००८, २००९, २०१० र २०१७ मा सबै ३० विद्यार्थी प्रवेश परीक्षामा सफल भएका थिए । फिल्म सुपर ३० मा ऋतिक रोशनले आनन्द कुमारको भूमिका निभाएका छन् । फिल्म सुरुदेखि नै विवादको घेरोमा परेको थियो ।