विधेयकविरूद्ध हङकङबासी उर्लिएपछि, पछिहट्यो संसद

334

एजेन्सी, जेठ ३०,
हङकङ । हङकङ चीनको यस्तो ठाउँ हो जुन चीनभित्र त पर्छ तर बेइजिङको कानुन मान्दैन्। अर्थात् चीन र हङकङ एक देश दुई व्यवस्था हुन्। पछिल्लो समय हङकङको विधायिकाले हिरासतमा रहेकालाई चीन सुपुर्दगी गर्नेसम्बन्धी विधेयक ल्याएपछि हङकङवासी त्यसको विरोधमा उत्रिएका छन्। सन् १९९७ मा बेलायतले चीनलाई सुम्पिएको हङकङमा त्यसयताकै ठूलो प्रदर्शन भएको छ। लाखौं मानिस सडकमा आएर विधायिका कार्यालय  घेराउ गरेका छन्। उनीहरूले सांसदहरूलाई सभाहलमा प्रवेश पनि गर्न दिएका छैनन्।

प्रस्तावित कानुन पारित भए हङकङमा पक्राउ परेका स्थानीय, विदेशी वा त्यहाँ घुम्न गएकाहरूलाई बेइजिङले चाहेमा चीन सुपुर्दगी गरिनेछ। बेइजिङले भने यो प्रदर्शनलाई उचाल्नुमा अमेरिकालगायत पश्चिमा शक्तिको हात रहेको आरोप लगाएको छ। केही दिनदेखि शान्तिपूर्ण रहेको प्रदर्शन बुधबार हिंसात्मक भएको छ। प्रहरीले चलाएको रबर गोली र अश्रुग्यासले प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीले पनि प्रहरीमाथि इँटा प्रहार गरेका छन्। झडपमा परी ७२ जना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमले जनाएका छन्।

बुधबारको हिंसापछि बिहीबार भने हङकङमा प्रदर्शनकारी घटेका छन्।  प्रदर्शनकारीले  लक्षित गरेका ठाउँ वरपरका सरकारी कार्यालय र बैंकहरू बन्द छन्। सडकहरू खुलेका छन् तर सवारी एकदमै पातलो छ। विधायिका परिषदका अध्यक्षले विधेयकमाथि बिहीबार कुनै छलफल नहुने सूचना जारी गरेपछि आन्दोलनकारी घर फर्किएका हुन्। अब विधेयकमा कुन दिन छलफल हुन्छ भन्ने टुंगो नभएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। विधेयक फिर्ता लिनु पर्ने माग गरिरहेका प्रदर्शनकारीले फेरि बहस थालिए आफूहरू सडकमा ओर्लने चेतावनी दिएका छन्।