कांग्रेस नेतृत्वलाई खबरदारीः भातृ संगठनलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ ?

154

-नेपाल समाचारपत्र दैनिक
जेठ ३०, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समयमै अधिवेशन गरेर आफ्ना शसक्त भ्रातृ संगठनहरुलाई चलायमान बनाउन नसक्दा पार्टी नेतृत्वले चर्को आलोचना खेपिरहनुपरेको छ । पार्टीका शीर्ष नेताहरु भ्रातृ संगठन लथालिङ्ग बनाएको कारण कांग्रेस बलियो हुन नसकेको र कम्युनिष्ट सरकारको गलत क्रियाकलापको पर्दाफास गर्न नसकिएको पनि बताइएको छ ।

नेपाली कांग्रेसको नर्सरी मानिँदै आएका नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन छ । शीर्ष नेताहरुले भागवण्डाको आधारमा छनोट गरिएका नेताको भरमा रहेको तरुण दलको अवस्था पनि त्यस्तै छ । नेपाल दलित संघ, नेपाल प्रेस युनियन मात्र हैन समयमै अधिवेशन गरेर अन्य भ्रातृ तथा शुभेच्छुक संघ संगठनलाई पनि कांग्रेसले चलायमान बनाउन सकेको छैन । प्रजातन्त्र सेनानी संघ र नेपाल किसान संघको अधिवेशन नभएको दशक पुगिसक्यो ।

नेविसंघ महाधिवेशन पक्षधर विद्यार्थी समूहले पार्टी नेतृत्वलाई सुध्रिन र सुधार गर्न खबरदारी गर्न थालेको छ । आफ्ना सशक्त भ्रातृ संगठनहरुलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ भन्दै नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् । पार्टीभित्र यथास्थितिवादी र परिवर्तनशील दुई धार रहेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी भन्नुहुन्छ– ‘सभापति शेरबहादुर देउवा यथास्थितिवादी धारको नेतृत्व गर्छन् ।’ जसका कारण पार्टीभित्र नयाँ जागरण पैदा हुन नसकेको उहाँ बताउनुहुन्छ । पार्टी नेतृत्वले पार्टीलाई प्रजातान्त्रिक परिपाटीबाट नचलाएको, भ्रातृ संगठनलाई लथालिङ्ग बनाएको कारण अधिनायकवादी कम्युनिष्टहरुको हर्कत पर्दाफास गर्न नसकिएको नेता केसीको भनाइ छ ।

पटकपटक म्याद थप्दा पनि तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि सभापति नैनसिंह महरले राजीनामा दिए पनि नेविसंघ अहिले नेतृत्वविहीन छ । ‘नेविसंघलाई कांग्रेस उत्पादन गर्ने नर्सरी पनि भनिन्छ’, नेविसंघका नेता मोतीलाल भण्डारी भन्नुहुन्छ– ‘पार्टीको महत्वपूर्ण निकायलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ रु’ नेविसंघको अधिवेशन गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर नभइरहेको बेला राजधानीमा एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता अर्जुन नरसिंह केसी, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे तथा नेविसंघका पूर्वपदाधिकारीहरु समेतले नेविसंघको नेतृत्व रिक्त राखेकोमा पार्टी नेतृत्वको आलोचना गरेका थिए ।