ओली नहुँदा नेकपाभित्र सुनसान

79

नेपाल समाचारपत्र
जेठ २८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा जानुभएसँगै पार्टीका नेताहरुलाई जिम्मेवारी दिने विषय लम्बिएको छ । पार्टी एकता भएको एक वर्षभन्दा बढी समय बितिसक्दा समेत सचिवालयकै नेताहरु जिम्मेवारीविहीन अवस्थामा रहनुभएको छ । महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक अन्य सचिवालयका सदस्यहरुले कुनै पनि जिम्मेवारी पाउन सक्नुभएको छैन । तर पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण जिम्मेवारी बाँडफाँडको काम टुंगो लाग्न सकेको छैन । पार्टीको सचिवालय बैठक बस्ने गरे पनि समय अभाव भएको भन्दै स्थगित हुँदै आएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली विदेश भ्रमणमा जानुअघि नै सचिवालय, स्थायी समिति र केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड हुने तयारी गरिएको थियो । तर पार्टीभित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मापदण्डको विषयलाई लिएर विवाद चुलिएपछि तयार भएको प्रस्तावसमेत अगाडि बढन सकेन ।

सचिवालय बैठकमा अध्यक्ष ओलीले दोहोरो जिम्मेवारी दिने गरी जिम्मेवारी बाँडफाँडको प्रस्तावप्रति नेता नेपाल पक्षले आपत्ति जनाएको थियो । अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोहोरो जिम्मेवारी कम दिने गरी अगाडि सारेको प्रस्ताव पनि पारित हुन सकेन । गृहकार्य गरे पनि ४ सय ४१ जना केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडको कुनै निर्णय हुन सकेन ।