एजेन्सी, जेठ २३,
काठमाडौँ ।क्रिस्टियानो रोनाल्डोले युइएफए नेसन्स लिगमा पोर्चुगलको लागि ह्याट्रिक गरेका छन्। उनको हयाट्रिसँगै पोर्चुगल युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति सकिएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ३–१ गोलले पराजित गरेको हो। रोनाल्डोले खेलको २५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई पहिले अग्रता दिलाए। ५७ औं मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्काउन सफल भयो।
रोद्रिगेजले पेनाल्टीमा गोल गरेर बराबरी गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने प्रयास गरे। तर ८८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेपछि पोर्चुगलले २–१ को अग्रता लियो। खेलको अन्तिम मिनेटमा रोनाल्डोले ह्याट्रिक पुरा गर्दा पोर्चुगलको जित पक्का भएको थियो। उनले बेर्नान्डो सिल्भाको क्रसमा उत्कृष्ट गोल गरेका थिए। पोर्चुगलले अब फाइनलमा आइतबार इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीच बिहीबार दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुँदैछ।













