३ हजार पुग्यो वृद्धभत्ता , छात्रालाई निस्शुल्क स्यानेटरी प्याड

57

जेठ १५,
काठमाडौँ ।

सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । संसद्‌मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले वृद्ध भत्ता ३ हजार पुर्‍याएको जानकारी दिए । त्यस्तै एकल महिलाको भत्ता पनि १ हजार बढाइएको छ। यसअघि वृद्धभत्ता मासिक २ हजार र एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो।
वृद्धभत्ता बढाएपछि १३ लाख जनसख्या लाभान्वित हुने अर्थमन्त्रीले बताए।

आर्थिक वर्ष २०७६/०७७ का लागि शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड छुट्याएको अर्थमन्त्री युवराज खतिवडाले जनाएका छन्। विद्यालयमा स्यानेटरी प्याड नि:शुल्क उपलब्ध गराउने, दिवाखाजा वितरण गर्ने जस्ता व्यवस्था उनले शिक्षासम्बन्धी कार्यक्रममा उल्लेख गरेका छन्। दिवाखाजाका लागि ५ अर्ब ९५ करोड छुट्याएको अर्थमन्त्री खतिवडाले बताए। उक्त रकम विद्यार्थीका आमालाई दिइने व्यवस्था गरेको पनि बजेट भाषणमा उनले उल्लेख गरे।
३०० नयाँ विद्यालय बनाउन ८ अर्ब ५३ करोड छुट्याएको उनले बताए। अर्थमन्त्री खतिवडाले आउँदो वर्ष मदनभण्डारी विश्वविद्यालय स्थापना गर्न सरकारले १ खर्ब ७५ करोड छुट्याएको बताए। गत वर्ष शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख छुट्याइएको थियो। ४६ अर्ब ५३ करोड ६४ लाख रूपैयाँ संघमा २८ अर्ब ५७ करोड ३ लाख प्रदेश र ८५ अर्ब ११ करोड ५० लाख स्थानीय तहलाई शिक्षाका लागि बजेट विनियोजन गरिएको थियो।