सगरमाथा चुचुरोमा ट्राफिक जाम

121

नयाँ पत्रिका, जेठ ११,
काठमाडौँ । संसारकै सर्वोच्च शिखर सगरमाथा । नेपालका लागि मात्रै नभएर संसारकै लागि पनि रोमाञ्चक प्राकृतिक सम्पदा । अझ आरोहीका लागि त पवित्रस्थल, जहाँ संसारभरका आरोहीले पुग्ने सपना देख्छन् । त्यही सपना पछ्याउँदै यो वसन्त ऋतुमा संसारभरका आरोही सगरमाथा क्षेत्र पुगेका छन् । समुद्र सतहबाट आठ हजार आठ सय ४८ मिटरको यो शिखर उत्तरी र दक्षिणी मोहडाबाट चढ्न सकिन्छ । उत्तरी अर्थात् चिनियाँ क्षेत्रभन्दा दक्षिण अर्थात् नेपालबाट सगरमाथाको चुचुरोमा पुग्न धेरै आरोही लालयित हुन्छन् ।

यसपटक पनि विभिन्न देशका आरोही सगरमाथा क्षेत्रमा पुगेका छन् । पर्यटन विभागका अनुसार वसन्तयामका लागि तीन सय ८१ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका छन् । त्यसमध्ये केहीले केहीले आरोहण गरिसकेको र केही आरोहणको पर्खाइमा रहेको पर्र्यटन विभागको पर्वतारोहण शाखाकी प्रमुख मीरा आचार्यले बताइन् ।

सगरमाथा आरोहणका लागि सबैभन्दा बढी भारतका ७८ आरोहीले अनुमति लिएका छन् । त्यस्तै, अमेरिकाका ७५, क्यानडाका ६०, चीनका ६० र बेलायतका ४४ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

चुचुरोमा ६ सयभन्दा बढी पुगे
यो याममा सगरमाथाको ६ सयभन्दा बढीले आरोहण गरेका छन् । जसमा विभिन्न देशका आरोही, सहयोगी शेर्पा, गाइड तथा सरदार छन् । सबै गरेर ६ सयभन्दा बढीले सगरमाथाको आरोहण गरेको पर्वतारोहण शाखाकी प्रमुख आचार्यले बताइन् । यसमा आरोही र अन्यको संख्या यकिन भएको छैन । आरोहण सकेर सबै आरोही आधार शिविरभन्दा तल ओर्लिएपछि मात्रै यसको यकिन गर्न सकिन्छ । ‘आरोहणका लागि गएका एजेन्सीले सबै विवरण दिएपछि मात्रै विश्लेषण गरेर आरोहीको संख्या एकिन हुन्छ,’ उनले भनिन् ।

पाँच आरोहीको मृत्यु
यो याममा सगरमाथा आरोहणका क्रममा शुक्रबारसम्म चार आरोहीको मृत्यु भएको छ भने एक बेपत्ता छन् । मृत्यु हुनेमा भारतका रवि र अञ्जनी कुल्कर्णी तथा अमेरिकाका बोनाल्ड ल्यान्क्यास छन् । शुक्रबार सगरमाथा क्याम्प–३ मा नेपाली आरोही ध्रुव विष्टको मृत्यु भएको छ । त्यस्तै, आयरल्यान्डका स्यामुसे सियान बेपत्ता रहेका छन् । त्यसैगरी, माउन्ट मकालुको क्याम्प २ र ३ को बीचमा नेपाली आरोही निमा तेन्जिङ शेर्पाको मृत्यु भएको छ । अत्यन्तै जटिल आरोहण प्रक्रिया भएकाले आरोहीको मृत्यु पनि हुने गरेको छ । कतिपयको चुचुरोमा पुगेर फर्कने क्रममा त कतिपयको अक्सिजन सकिएर मृत्यु हुने गरेको छ ।

३० हिमालमा आरोही

यो याममा सगरमाथासहित नेपालका ३० हिमाल आरोहणका लागि आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार एक सय १३ टिमका आठ सय ६८ आरोहीले अनुमति लिएका छन् । जसमा सबैभन्दा बढी सरमाथामा आरोहणका लागि तीन सय ६१ आरोही छन् । त्यस्तै, लोत्सेमा ९८, मकालु ५३, आमादब्लममा ४९ र नुप्सेमा ३७ आरोहीले अनुमति लिएका छन् । यसैगरी, सारेबुङमा २९, हिम्लुङ हिमालमा २६ र अन्नपूर्ण (पहिलो)मा २३ ले आरोहीले अनुमति लिएको विभागको तथ्यांक छ ।

सगरमाथामा ट्राफिक जाम

सगरमाथा आरोहणमा मौसमको भूमिका महत्वपूर्ण हुन्छ । सधैँ अनुकूल हुँदैन । जुन दिन मौसम अनुकूल हुन्छ, त्यही दिन सबै आरोही चुचुरोमा पुग्ने प्रयास गर्छन् । जसले गर्दा सगरमाथामा ‘ट्राफिक जाम’ नै हुन्छ । यसपटक पनि त्यस्तै भयो, एकैपटक दुई सयभन्दा बढी आरोही तथा गाइड चुचुरोमा पुग्दा ९ जेठमा । एउटै सयममा उक्लिने र ओर्लिने क्रम चल्दा आरोहीले धेरै समय पर्खिनुपर्‍यो ।

सगरमाथा आरोहणका लागि एउटा मात्र मार्गमा डोरी टाँगिएको हुन्छ । त्यही डोरी समातेर आरोह गर्ने तथा ओर्लिने गर्छन् । कतिपय ठाउँमा बाटो साँघुरो हुन्छ । त्यस्तो ठाउँमा पनि पालो पर्खिनुपर्र्छ । त्यसले गर्दा ‘ट्राफिक जाम’ भएको विभागले जनाएको छ ।

केही समययता आरोहीको चाप पनि बढेको छ । ०७२ मा गएको भूकम्पले सगरमाथा आधार शिविरमा पहिरो गएको थियो । त्यसवर्ष सगरमाथा आरोहण स्थगित गरिएको थियो । त्यसवेला आरोहण स्थगित गरेका आरोही अहिले आउन थालेकाले पनि चाप बढ्दै गएको विभागको ठहर छ ।

मेलास्थलजस्तै आधार शिविर

सगरमाथा आधार शिविरमा पनि भिड लागेको छ । एक महिनायता आधार शिविर भरिभराउ छ । यो याममा एक महिनामा दुई हजारभन्दा बढी व्यक्ति आधार शिविरमा रहेको पर्वतारोहण शाखाप्रमुख आचार्यले बताइन् ।

आधार शिविरमा तीन सय ८१ आरोहीले टेन्ट राखेका छन् । उनीहरूका सहयोगी शेर्पा, सरदार, गाइड र भरिया पनि आधार शिविरमै छन् । ‘आधार शिविरमा एक प्रकारको मानव भिड नै लागेको छ । मान्छे भिड र टेन्टले गर्दा आधार शिविरमा मेला लागेजस्तै भएको छ,’ पर्यटन विभागका सूचना अधिकारी ज्ञानेन्द्र श्रेष्ठले भने ।

कीर्तिमानको प्रमाणीकरण हुँदैन

सगरमाथामा आरोहीका कीर्तिमान पनि रहने गरेका छन् । तर, पर्यटन विभागले आरोहीलाई सफल आरोहणको प्रमाणपत्र मात्र दिने गरेको छ । आरोहणको प्रमाणपत्र दिने कानुनी व्यवस्था भए पनि कीर्तिमान बनाएको प्रमाणीकरण गर्ने कानुनी व्यवस्था नभएको विभागले जनाएको छ । त्यसैले सगरमाथा आरोहणका क्रममा बनेका कीर्तिमानका लागि औपचारिक रूपमा कुनै प्रमाणपत्र दिने गरिएको छैन ।