भारतमा ट्युसन सेन्टरमा आगलागी हुँदा कम्तीमा १९ विद्यार्थीको मृत्यु

115

बीबीसी, जेठ ११,
काठमाडौँ ।भारतमा एउटा विद्यालयमा भएको आगलागीको घटनामा कम्तीमा १९ जना विद्यार्थी मारिएको अधिकारीहरूले बताएका छन्। देशको पश्चिमी शहर सूरतस्थित ट्यूशन कक्षा स‌ंचालन भैरहेको सो भवनको झ्यालबाट कालो धुँवाको मुस्लो निस्किरहँदा विद्यार्थीहरू त्यहाँबाट हाम्फालेका वा खसेका दृश्य देखिएको थियो। गुजरात राज्यका मुख्यमन्त्री विजय रुपाणीले आगलागीको घटनाबारे छानविन गर्न आदेश दिएका छन्। र तीन दिनभित्र एक प्रतिवेदन प्रस्तुत गरिने गुजरातका मुख्यमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएका छन्। राज्य सरकारले उक्त घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई चार लाख भारतीय रुपैयाँ सहायता स्वरुप उपलब्ध गराउने घोषणा पनि गरेको छ शुक्रबार साँझको उक्त घटनामा मारिनेमा धेरैजसो उक्त भवनमा संचालित ट्यूशन कक्षामा पढिरहेका किशोर उमेरका विद्यार्थीहरू रहेका ठानिएको छ।

कारण
आगलागीको कारण थाहा हुन सकेको छैन। अधिकारीहरूका अनुसार भवनको छाना ज्वलनशील बस्तुको भएकाले भरीभराउ कक्षा कोठाहरूमा आगो छिटो फैलिएको थियो। अन्य कम्तीमा २० जनालाई गम्भीर चोट लागेको र तिनीहरूको गुजरातस्थित अस्पतालहरूमा उपचार भैरहेको बताइएको छ। रोएटर्स समाचार संस्थाका अनुसार मारिनेहरूको उमेर २० वर्षभन्दा कम रहेको छ र भर्यांग नजिकैबाट आगो सुरु भएकाले पनि धेरै जसो त्यहाँ फसेका थिए। प्रधानमन्त्री

नरेन्द्र मोदीले ट्वीटर मार्फत समवेदना व्यक्त गरेका छन् र आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीहरूलाई आह्वान पनि गरेका छन्।अधिकारीहरूका अनुसार सूरत शहरस्थित तक्षशिला कम्प्लेक्स नामको व्यावसायिक भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो।आगो नियन्त्रणका लागि १९ वटा दमकलको प्रयोग गर्नु परेको थियो। घटनास्थलमा पहिला चारवटा दमकल लगिएको तर पछि आगो फैलन थाल्दा अरू दमकलहरू पनि लग्नु परेको थियो।