Saturday, October 3, 2026
Home साहित्य कविताः मेरो सपना

कविताः मेरो सपना

320

-चन्द्र एम. वि. ‘अविरल’

ईज्जत् कमाउने बहानामा
चटक्कै छोडिएको गाउँ,
आज सपनाको दृश्यमा
झल्याक झुलुक कता कता
देखेको अनुभुती हुन्छ।
लाग्छ अब एक पटक
त्यो गाउँको माटो
खन्दै बसेको मित्रलाई
शहरको एक पोको सम्पत्ति
ईज्जत् संगै पोक्याएर
एक भारी लगिदिउँ ।

सपनाले अरु अलग
र आफैंमा अपूर्ण सपना
देखाएर झस्काउन
बाध्य बनाउँछ,
म ईज्जत्को भाउ बुझ्न
बजारमा अनेक संघर्ष गर्छु,
हरेक पसलका साहुजीसंग
एक थान शुद्ध ईज्जत् माग गर्छु,
साहुजीले मुन्टो बटारेको देखेर
सम्झाउन तम्सन्छु उदाहरण सहित,
उदाहरणमा तिनै पोहोर साल
बेईज्जत् भएर सम्पतिमा
ईज्जत् खरिद गरेर
सम्मानित भएका
आफ्नै नेता जि को दिएको छु।

अब साहुजीले एकथान
शुद्ध सानदार ईज्जत् दिएपछि
म पनि तिनै नेता जि झैँ
सानले गाउँ गएर
तिनै पसिना झारेर
पाखुरा बजार्ने साथीलाई
एक पोको ईज्जत् संग
सम्पत्ति लगेर
उसको पाउमा राखेर
उसको हातबाट
एक शानदार सम्मान
ग्रहण गर्नुछ ।

फिदिम -१ पाँचथर