Wednesday, October 14, 2026
Home समाचार जेठ १५ बाट तातोपानी नाका खुल्ने

जेठ १५ बाट तातोपानी नाका खुल्ने

119

जेठ ९,
काठमाडौँ । चीनसँगको तातोपानी नाका जेठ १५ बाट सुचारु हुने भएको छ। चार वर्षअघि भूकम्पका कारण बन्द भएको थियो । भूकम्पले क्षति पुर्‍याएका संरचनाहरूको पुनर्निर्माण सकिएकाले जेठ १५ देखि तातोपानी नाका सञ्चालनमा आउने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ। ‘तातोपानी नाकाको पुनर्निर्माण सकिएको छ, अर्को सातादेखि सञ्चालनमा आउँछ,’ दूतावासमा बिहीबार बिहान भएको मिडिया ब्रिफिङमा राजदूत होउ यानछीले भनिन्,‘सुरूमा यो नाकामा मालवाहक सवारीसाधन चल्नेछन्।’

उनले चीनतिरको बस्ती भूकम्पपछि निकै जोखिममा परेकाले सारिएको र अहिले पनि जोखिम कायमै रहेकाले आमनागरिकले भने तत्कालै नाका प्रयोग गर्न नसक्ने स्पष्ट पारिन्। ‘भूकम्पपछिको पुनर्निर्माणमा यो महत्वपूर्ण उपलब्धि हो। तातोपानी नाका पुनस् सञ्चालन भएसँगै नेपाल-चीनबीचको व्यापारमा वृद्धि हुनेछ,’ राजदुत यानछीले भनिन्। उनले नेपाली पक्षले पनि आफ्नोतिर बाटोलगायत पूर्वाधारको राम्ररी मर्मतसम्भार गरेर नाका सञ्चालन गर्ने विश्वास व्यक्त गरिन्। २०७२ वैशाख १२ को भूकम्पपछि कोदारी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको थियो। त्यसपछि रसुवाको केरूङ नाकाबाटमात्र चीनमा सामान आयात-निर्यात भइरहेको थियो।