गर्भवती महिलाको पेट चिरेर बच्चा चोरियो

106

एजेन्सी, जेठ ७,
काठमाडौँ । दुनियाकै सम्पन्नशाली तथा सभ्य भनिने मुलुक अमेरिकामा एउटा अन्त्यन्तै दर्दनाक तथा पासविक घटना भएको छ । त्यहाँ एकजना गर्भवती युवतीको हत्या गरी हत्याराहरुले उनको पेटमा रहेको शिशु चोरेका छन् । उक्त घटनामा संलग्न ३ जनालाई पुलिसले पक्राउ गरेको छ । हत्याराहरुमा एकजना महिला, उनकी छोरी र प्रेमी रहेका छन् । शिकागो पुलिसका अनुसार गत अपि्रल २३ मा यो घटना भएको हो । १९ वर्षकी गर्भवती युवती मार्लेना ओचालो लोपेजलाई बच्चालाई काम लाग्ने केही सामान दिने बहानामा क्लारिसा फिग्युरोआ नामक महिलाले आफ्नो घरमा बोलाइन् । चिनेजानेकी महिलाले बोलाएपछि लोपेज उनको घरमा गइन् ।

जब लोपेज आफ्नो घरमा आइन् तब ती महिलाले आफ्नी २४ वर्षकी छोरी डेसोरीसँग मिलेर गर्भवती लोपेजको हत्या गरिन् । त्यसपछि ती आमा-छोरी मिलेर लोपेजको पेट चिरे र उनको गर्भमा रहेको बच्चा निकाले । गर्भवतीको हत्या गरेर पेटको बच्चा निकालेसँगै ती आमा-छोरीले आकस्मिक नम्बरमा फोन गरेर आफूले बच्चा जन्माएको र सास फेर्न नसकेको कुरा बताए । तत्कालै एम्बुलेन्स आएर उक्त नवजात शिशु र आफूलाई आमा दाबी गर्ने क्लारिसालाई अस्पताल लग्यो ।

यसबीचमा लोपेज हराएको सूचना पुलिसमा पुगिसकेको थियो र उनको खोजी भैरहेको थियो । प्रहरीले अनुसन्धान गरिरहेको थियो । त्यही क्रममा मे ७ का दिन लोपेज र क्लारिसाबीच फेसबुकमा भएको एउटा कुराकानीप्रति पुलिसको शंका मोडियो । उक्त कुराकानीका क्रममा क्लारिसाले लोपेजलाई आफ्नो घरमा बोलाएकी थिइन् । प्रहरीलाई शंका लागेसँगै गत मंगलबार क्लारिसाको घरमा खानतलासी गरियो । त्यसक्रममा घर पछाडि राखिएको ठूलो फोहोरको बाकसमा राखिएको अवस्थामा लोपेजको शव बरामद भयो । शवको पोष्टमार्टम तथा डिएनए परीक्षणसँगै त्यो लोपेजकै भएको पुष्टि भयो । त्योसँगै बच्चाको पनि डिएनए परीक्षण गरियो र त्यसबाट उक्त बच्चा मृतक लोपेजको भएको प्रमाणित भयो ।

प्रहरीले क्लारिसा र उनकी छोरी डेरिसलाई पक्राउ गरी केरकार गर्दा उनीहरुले आफ्नो सबै अपराध स्वीकार गरे । ती आमा-छोरीसँगै आमाका प्रेमी पिओट्र बोबाकलाई पनि जिम्मेवार ठहराउँदै प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यो घटना निकै नै हृदयविदारक र अकल्पनीय रहेको जनाएको छ ।Onlinekhabar