Sunday, September 27, 2026
Home Uncategorized विश्व कीर्तिमान राखेको एक हप्तामै २४औं पटक सगरमाथा चढ्ने कामिरिता शेर्पा घोषणा

विश्व कीर्तिमान राखेको एक हप्तामै २४औं पटक सगरमाथा चढ्ने कामिरिता शेर्पा घोषणा

106

बीबीसी, जेठ २,
काठमाडौँ । कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने बताएका छन्। कामिरिताले मङ्गलवार २३औं पटक विश्वको सर्वोच्च शिखरमा टेक्दै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने आफ्नो कीर्तिमानमा सुधार गरेका थिए। “[तेइसौं पटक चढ्दा] एकदमै खुशी लागेको छ,” ४९ वर्षिय कामिरिताले सगरमाथा आधार शिविरबाट बीबीसी नेपाली सेवालाई भने। “यो ऋतुमा अब फेरी चढ्छु।” सगरमाथा आरोहणका लागि अबको उपयुक्त दिन मे २२ को आसपासमा हुने बताइएको छ।

प्रशासनिक प्रक्रिया हुँदै

कामिरिताको अरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले उनको दोस्रो आरोहणका लागि प्रशासनिक काम भइरहेको बताए। मिङ्मा शेर्पाले भने: “अहिलेसम्म उहाँलाई कुरिरहेका थियौँ। उहाँले आधारशिविरमा आएर फेरी चढ्ने बताउनु भएको छ। हामी अहिले त्यसका लागि आवश्यक कागजी प्रक्रिया गरिरहेका छौँ।” “उहाँलाई विश्वभरबाट बधाई आइरहेको छ। उहाँ एकदमै खुशी हुनहुन्छ, शारीरिक र मानसिक रुपमा तयार हुनुहुन्छ। उहाँ फेरि सगरमाथा चढ्नुहुन्छ।”

एकै याममा दुई पटक

एकै याममा दुई पटक सगरमाथा चढ्नु नौलो कुरो होइन्। कामिरिताले यस अगाडी पनि तीन आरोहण याममा दुई दुई पटक सगरमाथा चढिसकेका छन्। उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए। सन् २०१२ मा पनि उनी दुई पटक चुचुरोमा पुगेका थिए तर आधारशिविर नआईकन चौथो शिविरबाटै पुन: माथि लागेकोले त्यसले छुट्टै आरोहणको मान्यता पाएन।

कामिरिताको कीर्तिमान

सोलुखुम्बुको थामे गाउँका कामिरिता शेर्पा मङ्गलवार २३‌‌औं पटक सगरमाथा शिखरमा पुगेका थिए। सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले ५० वर्षको उमेरमा २५ पटक सगरमाथाको चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्। उनी अर्को वर्ष ५० वर्षका हुने भएकाले आफ्नो लक्ष्य प्राप्तिका लागि फेरी सगरमाथा चढ्ने प्रयास गर्न लागेको बताइएको छ।

सबैभन्दा बढी सगरमाथा आरोहण

आरोहीआरोहण
कामिरिता शेर्पा२३
ङिमा नुरु शेर्पा२१
आप्पा शेर्पा२१
फुर्वातासी शेर्पा२१
आङ दोर्जी शेर्पा१९
छेवाङ निमा शेर्पा१९
मिङ्मा छिरी शेर्पा१९
लाक्पा रिता शेर्पा१७
कामिरिता शेर्पा१६
निमा गोम्बु शेर्पा१६

सबै आरोही नेपाली हुन्।

स्रोत: पर्यटन विभाग, नेपाल