Home समाचार यी हुन विश्वका सबैभन्दा उत्कृष्ट र खराब विमान कम्पनी

यी हुन विश्वका सबैभन्दा उत्कृष्ट र खराब विमान कम्पनी

0

जेठ २,
काठमाडौं । विश्वभर चल्ने विमान कम्पनीहरूमध्ये सबैभन्दा राम्रो र स्तरीय सेवा दिने को होला ? धेरैले अनुमान लगाउन सक्छन् । यसपछिका विमान कम्पनीबारे भने धेरैको अनुमान फेल पनि खान सक्छ । हो, पहिलो स्थानमा कतार एयरवेज छ । यसको पछि अमेरिकन एयरलायन्स, एरोमेक्सिको, एसएएस, क्यान्डिभियन एयरलायन्स र क्वान्तास परेका छन् । सबैभन्दा तलको स्थानमा भने रायन एयर, कोरियन एयर, कुवेत एयरवेज, बेलायतको इजिजेट र थोमस कुक एयरलायन्स परेका छन् ।

एयर हेल्प अर्गनाइजेसनले सन् २०१८ मा विश्वभर चल्ने ७२ वटा विमानहरूको अध्ययन गरेको थियो । हेल्पले तत्क्षण दिने कार्यकुशलता, दाबी प्रक्रिया, सेवाको गुणस्तरको अध्ययन गरेको थियो । र, सबैलाई समान अंक दिएको थियो ।

‘राम्रो मौसमको अवस्थाले उडानमा कमै मात्र समस्या परेको देखिन्छ,’ एयर हेल्पका प्रमुख कार्यकारी अधिकृत हेनरिक जिलमरले भने । अध्ययन अवधिमा बढ्दो यात्रुको चापसँगै विमान कम्पनीहरूले आफ्नो सेवाको गुणस्तरमा उत्साहजनक सुधार ल्याएको जिलमरले बताए ।

सबैभन्दा ठूलो फड्को भने अमेरिकन एयरलायन्सले मारेको छ । अघिल्लो आर्थिक वर्ष २३औँ स्थानमा रहेको उक्त विमान सन् २०१९ को अध्ययनमा भने दोस्रो स्थानमा उक्लिन सफल भएको छ । ‘मलाई छक्क लागेको छ, कोरियन एयरलायन्स भने निकै तल ओर्लियो,’ उनले भने, ‘यो त एसियाकै राम्रो कम्पनी थियो ।’

युनाइटेड र डेल्टा एयरलायन्स पनि सन् २०१७ को तुलनामा निकै माथि उक्लेका छन् । यी कम्पनी पहिले ३७ र ४७औँ श्रेणीमा थिए । अहिले उक्लेर १६ र १७औँ स्थानमा पुगेका छन् । एरोमेक्सिकोले त चमत्कारै गर्‍यो । २६औँ स्थानमा रहेको यो विमान कम्पनी तेस्रो स्थानमा पुगेको छ ।

यति हुँदाहुँदै पनि विमान कम्पनीहरूले आफ्नो दाबी समस्या समाधानमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ । यात्रुले आफ्ना सरसामानमा गरेको दाबीलाई तत्कालै सम्बोधन गर्ने परिपाटी कुनै एयरलायन्समा नरहेको जिलमर बताउँछन् । अर्कातर्फ सानो–सानो मौसमको खराबीले पनि उडान रद्द गर्ने परिपाटी छ । यसले यात्रुले लामो समयसम्म कुर्नुपर्ने बाध्यता छ । ‘ती यात्रुलाई अर्को उडानबाट छिटै गन्तव्यमा पुग्ने गरी कुनै अर्को व्यवस्था गरिँदैन,’ उनले भन, ‘यसमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here