भद्रगोल कूटनीति

105

चन्द्रशेखर अधिकारी( अन्नपूर्ण पोष्ट)
बैशाख २८, परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका महाशाखाले विदेशस्थित १० दूतावास र ८३ मुलुक हेर्दै आएको छ। अमेरिका, क्यानडा, दक्षिण अमेरिका, युरोपका सबै दूतावास यही महाशाखाअन्तर्गत पर्छन्। तर ती मुलुकसँगको प्रत्यक्ष अन्तरक्रियामा एक सहसचिव, एक उपसचिव, एक अधिकृत र एक सुब्बा मात्र खटिएका छन्। यति जनशक्ति त कुनै एउटा देशको नेपाली दूतावासमै रहन्छ। यस्तो अवस्थामा मन्त्रालयले किन महाशाखालाई धेरै जिम्मेवारी दिएको होला ?

कामको बाँडफाँट व्यवस्थित नहुँदा इन्डोनेसियालाई शुभकामना सन्देश पठाउने क्रममा परराष्ट्र मन्त्रालयले शोक सन्देश पठाएको विज्ञप्ति केही समयअघि सञ्चारमाध्यममा आयो। मन्त्रालयले भुल सुधार ग¥यो तर कुनै कर्मचारीमाथि कारबाही भएन। मन्त्रालयबाट यस्ता थुप्रै त्रुटि भइरहेका छन्। काम गर्नेले गल्ती गर्छ तर कूटनीतिमा गल्ती सच्याउन मिल्दैन। यतिमात्र होइन, भ्रमणको प्राथमिकता तय नगर्ने, मुलुुकैपिच्छेको कूटनीति भन्ने तर त्यसका लागि तयारी नगर्ने, काम बाँडफाँटमा भद्रगोल बनाउने जस्ता कमजोरी महाशाखाबाट हुँदै आएका छन्।

दूतावासको प्रतिनिधि गए हुने स्थानमा मन्त्रालयका अधिकारी नै उड्नुपर्ने, सबै भ्रमणमा लाइन लागेर जानैपर्ने, भ्रमणको प्राथमिकता तय गर्न नपर्ने, भ्रमणपछि फलोअप नगर्ने समस्याले परराष्ट्र मामिला भद्रगोल छ। नेपालले विदेशस्थित कूटनीतिक नियोग वा संगठनमा नियमित रूपमा र अन्य मुलुकले छोड्दा अवसर पाउनु स्वाभाविकै हो। तर यसलाई ठूलो उपलब्धि भनेर प्रचार गरिन्छ। यसबाट मन्त्रालय प्रवेश गरेका पछिल्लो पुस्ता ९युवा० मा निराश छन्। एक नवप्रवेशी अधिकृतले भने, ‘पराष्ट्र भद्रगोल अवस्थामा छ। कामको जिम्मेवारी र बाँडफाँटमा अन्योल छ।’

राष्ट्रप्रमुख, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले भ्रमण गर्ने मुलुक र के विषयमा छलफल गर्ने भनेर योजना बनाउनुपर्ने जिम्मवारी परराष्ट्रको हो। तर कतैबाट निम्तो आउनेबित्तिकै कसलाई कसरी पठाउने भन्नेमै केन्द्रित हुन्छ परराष्ट्र। साना मुलुक बचाउने र विकास गर्ने एकमात्र उपाय कूटनीति हो भन्ने विश्वव्यापी धारणा छ। परराष्ट्र सेवामा प्रवेश गर्नेले यी सबै कुरा पढेकै हुन्छन्। तर उनीहरू त्यहाँ पुगेपछि सबै भुल्छन्।

पछिल्लो समय हाम्रो कूटनीति पेचिलो बन्दै गएको धारणा कूटनीतिज्ञले व्यक्त गर्दै आएका छन्। नेपाल उदाउँदो छिमेकी र परम्परागत शक्ति मुलुकका आँखामा छ। तर उनीहरुको चासोलाई काउन्टर गर्ने आधार हामीसँग छैन। सोही कारण हाम्रो कूटनीतिक जग धर्मराएको छ। कूटनीतिको जग परराष्ट्र मन्त्रालय हो। कार्यकारी प्रमुखले कुनै कुरा फरक ढंगले सोच्दा सच्याउन सक्ने हैसियत परराष्ट्रसँग हुनुपर्छ। कूटनीतिक क्षेत्रका विज्ञहरू भन्छन्, ‘कूटनीति सञ्चालन गर्ने र यसको नेतृत्व सम्हाल्नेको तौरतरिका हेर्दा लाग्छ सबै ‘हुन्छ बहादुर’।’

सम्बन्ध १६६ मुलुकसँग

परराष्ट्र मन्त्रालयले यतिबेला विश्वका एक सय ६६ मुलुकसँग प्रत्यक्ष÷अप्रत्यक्ष अन्तरक्रिया गर्छ। नेपालले पहिलोपल्ट सन् १८१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध कायम गरेको हो। बिहीबार अफ्रिकी मुलुक इस्वाटिनीसँग सम्बन्ध राखेको छ। यी सबै मुलुकसँग त्यहाँको राष्ट्रिय दिवसदेखि राष्ट्रप्रमुखको जन्मोत्सव र दुईपक्षीय सम्बन्ध स्थापना भएका दिन स्मरण गर्ने काम परराष्ट्रकै हो। त्यसमा बधाई तथा शुभकामना सन्देश पठाउने आधार मन्त्रालयले तयार पार्छ।

पछिल्ला गतिविधि हेर्दा यस्तो विषयमा ध्यान दिन महाशाखा सक्षम नभएको तथा समानुपातिक एवम् वैज्ञानिक ढंगले काम वितरण नगरिएको परराष्ट्र अधिकारी नै बताउँछन्। नेपालको भौतिक उपस्थितिसहितको सहकार्य ३३ मुलुकसँग मात्रै छ। ३० मुलुकमा दूतावास छ भने तीन स्थानमा राष्ट्रसंघीय नियोग छ। यिनै संयन्त्रमार्फत भागबन्डा गरेर एक सय ६६ मुलुक हेरिन्छ। साथै ६ स्थानमा महावाणिज्यदूतावास र एक सय ५० भन्दा बढी अवैतनिक दूत तोकिएका छन्।