नेपाल समाचारपत्र
साउन २१, काठमाडौँ । नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् । पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ६७ हजार ८ सय र तेजावी सुन ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।
अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावका कारण सुनचाँदीको मूल्यमा वृद्धि भएको सुनचाँदी व्यवसायीहरु बताउँछन् । पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव छाइरहेकाले सुनचाँदीको भाउ महङ्गिएको सुन व्यवसायीहरुको भनाइ छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिका र चीनबीचको व्यापार युद्ध लगायत विविध कारणले नेपालीमा सुनचाँदीको मूल्य बढेको बताउनुभयो । उहाँले आइतबार मात्रै इरानले तेलको ट्यांकर रोकेको तथा भारतको जम्बु काश्मिरमा आएको राजनैतिक तनावका कारण नेपाली बजारमा सुनचाँदीको भाउ अचाक्ली बढेको उल्लेख गर्नुभयो ।
नेपाल समाचारपत्रसँग कुरा गर्ने क्रममा उहाँले भन्नुभयो, ‘आइतबारमात्रै इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लिएको छ, यसबाट पनि सुन महंगिएको छ ।’ उहाँले भारतमा जम्बू–कश्मिरमा फैलिएको आतंकका कारण नेपाली सुन बजार प्रभावित भएको उल्लेख गर्नुभयो ।
व्यवसायी शाक्यले सुनको कारोबार कहिलेसम्म बढ्ने भन्ने अनुमान गर्न नसकिने बताउँदै भन्नुभयो, ‘सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँभन्दा माथि नजाला भन्न सकिँदैन रु’