जनप्रतिनिधिकै गाउँका महिला छाउगोठमा

296

दयाराम पण्डित (नेपाल समाचारपत्र)
बैशाख २२, बाजुरा । बडिमालिका नगरपालिका–१ का अध्यक्ष रामबहादुर कार्की, २ का अध्यक्ष डम्मर महत, ८ का अध्यक्ष प्रकाश रावल र ७ का अध्यक्ष धर्मराज पाध्याय बस्ने गाउँ र वडाका महिलाहरु परम्परागत रुपमा छाउगोठमा बस्दै आएका छन् । राम बहादुर कार्कीको गाउँ सल्लेना हो । उहाँको गाउँमा १ सय ११ परिवार बस्दै आएका छन् । सबै महिलाहरु महिनावारी भएको बेला छाउगोठमा बस्ने गरेका छन् । प्रकाश रावल बस्ने गाउँ र वडाका महिलाहरु पनि छाउगोठमा बस्दै आएका छन् । त्यस्तै धर्मराज पाध्याय बस्ने रजातोली गाउँमा १ सय १५ परिवार बस्दै आएका छन्, महिनावारी भएको बेला सबै महिलाहरु छाउगोठमा बस्ने गरेका छन् । रजातोली गाउँमा २४ जना स्थायी, अस्थायी कर्मचारी र २ जना जनप्रतिनिधि छन्, तिनीहरुका महिलाहरु पनि महिनावारी भएको बेला छाउगोठमा बस्दै आएका छन् । बडिमालिका नगरपालिका–२ मा पनि छाउपडी गोठमा बस्ने चलन कायमै छ । गोठ थोरै छन्, प्रथा चाहिँ रही आएको अध्यक्ष डम्मर महत बताउनुहुन्छ । ‘नगरपालिकामा सामाजिक कुरीति उन्मूलन गर्नका लागि नियम कानुन बनाउने र नियगमन गर्ने वडा अध्यक्षको गाउँमै नै छाउपडी प्रथाले जरो गाड्दै आएको छ, कसरी परिर्वतन हुन्छ’ –एक स्थानीयले वताए ।