अब केबलकारमा सरर सराङकोट

122

बैशाख २१,
पोखरा – पोखरादेखि सराङकोट जोड्ने केबलकार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । दशैं अघि नै केबलकार सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ । ‘आउदो दशैअघि नै केबलकार सञ्चालनमा ल्याउने तयारीका साथ धमाधम काम भइरहेको छ’ केबलकार निर्माण आयोजनाका निर्देशक तीर्थराज त्रिपाठीले बताए । यसअघि बैशाखको पहिलो साता काम सकेर केबलकार परीक्षण गर्ने निर्माण कम्पनीले बताएको थियो । केबलकारको लट्ठो समयमै ल्याउन नसकेकाले जेठको अन्तिम साताबाट मात्रै परीक्षण सुरु हुने निर्देशक त्रिपाठीले सुनाए ।

दुई दशमलव २ किलोमिटर लम्बाई रहने केबलकारमा १३ वटा टावर रहने आयोजनका प्रोजेक्ट इन्जिनियर शैलेन्द्रकुमार सिकेले जानकारी दिए । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले सुनाए । ‘१७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिने सक्छौं,’ प्रोजेक्ट इन्जिनियर सिकेले भने, ‘यात्रुको संख्या बढ्दै गए, डब्बा थप गरेर ३५ वटा सम्म डब्बा पु¥याउन सकिन्छ ।’ केबलकारको एउटा डब्बामा ८ जनासम्म यात्रु बस्न सक्ने उनले सुनाए । केबलकार निर्माणका लागि वरपरको जग्गा र वनक्षेत्रमा पर्ने २४ रोपनी जग्गालाई अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकारसँग लिजमा लिएको निर्देशक त्रिपाठीले बताए ।

नेपालमा सञ्चालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधिअनुसार एउटा तारमा केबलकार झुन्डिने उनले बताए । केबलकारको प्रवेशद्वार पोखरा १८ सेदीमा रहेको छ । योजनामा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेशी लगानी रहेको निर्देशक त्रिपाठीले बताए । आयोजनाको कुल खर्च करिब एक अर्व ३० करोड रहेको कम्पनीको उनको भनाई छ । -रातोपाटी