नेपालले फेरी जित्यो एसीसी यू–१६ क्रिकेटको उपाधि

99

वैशाख १५,
काठमाडौं । नेपालको सोह्र वर्षमुनिको क्रिकेट टोलीले एशिया पूर्वी क्षेत्रको प्रतियोगिताको उपाधि पुन: जितेको छ। शनिवार थाईल्यान्डमा भएको फाइनल खेलमा नेपालले ५९ रनले मलेशियालाई पराजित गरेर उपाधि सुरक्षित राखेको हो। टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो। तर नेपालले मलेशियालाई ८१ रनमा सीमित गरिदियो।

मलेसियाका तीन खेलाडीबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् । उसका लागि मोहम्मद हजिक ऐमानले १८ र वान मोहम्मद अजामले १६ रन बनाएका थिए । त्यस्तै, जिनेन्द्र मुरलीले १४ रन बनाए । २१.५ ओभरमा सातौं विकेट गुमाएको मलेसियाले आठौं विकेटका लागि मोहम्मद हजिक ऐमान र जिनेन्द्र मुरलीले पारी सम्हालेका थिए । ऐमान र मुरलीले २८ रनको साझेदारी गर्दैै मलेसियालाई उकास्ने कोशिस गरेका थिए । तर हजिक ऐमान आउट भएसँगै मलेसिया थप दबाबमा आएको थियो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपक बोहरा र विशालकुमार पटेल चम्किए । विशालले चार विकेट लिदा दीपकले तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।