पूर्व–प्रधानमन्त्री मनमोहन अधिकारीको २० औं स्मृति दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

73

वैशाख १३,
काठमाडौँ । पूर्व-प्रधानमन्त्री एवं कम्युनिष्ट नेता मनमोहन अधिकारीको २० औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालको पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा समेत लोकप्रिय नेता अधिकारीको हरेक वैशाख १३ गते स्मृति दिवस मनाउने गरिन्छ । अधिकारीको स्मृतिमा आज नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्मृति एवं श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । अधिकारीलाई विश्वकै इतिहासमा समेत पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा लिइन्छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यसमेत रहेका अधिकारी २०५१ को मध्यावधि निर्वाचनपछि प्रधानमन्त्री बनेका थिए । तर नौ महिनामै उनलाई हट्न बाध्य पारियो । प्रधानमन्त्री भएका बेला उनी ‘आफ्नो गाउँ आफै बनाऊँ’ कार्यक्रम र वृद्धभत्ताको सुरुआत कार्यक्रमलगायतबाट लोकप्रिय बने ।

काठमाडौंको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताए । उनलाई १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइयो । उनको बि।एस्सी। को अध्ययन सकिन लागेका बेला १९४२ मा, मन मोहन भारत छोडो आन्दोलनमा सहभागी भए । उनलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरू संगै जेल पठायो । त्यसपछि उनको अध्ययन पनि पुरा हुन पाएन ।

भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लागेका थिए । यिनी भारतीय कम्युनिस्ट पार्टीमा शामिल थिए । भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने ।

२०४६ को जनआन्दोलनताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बनेका थिए । उनको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।