मधुसूदन रायमाझी (नेपाल समाचारपत्र)
बैशाख ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकता भएको ११ महिनापछि ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । पार्टीभित्रको आन्तरिक विवादले लामो समयसम्म लम्बिँदै आएको सांगठनिक एकताअन्तर्गत नेकपाले जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नाममा सहमति जुटाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा टुंगो लगाएको नाममा सचिवालयका सदस्यहरुले सहमति जनाएका थिए । तर सचिवालयका सदस्यहरुले भने पार्टीले टुंगो लगाएका जिल्ला अध्यक्ष र सचिवको नाम भने हेर्न नपाइएको सचिवालयका एक सदस्यले बताए । टुंगिएको भागवण्डाअनुसार ४२ जिल्लामा पूर्वएमाले र ३५ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व लिने विषयमा यसअघि नै सहमति भइसकेको थियो । पार्टीभित्र पूर्व दुई पार्टीका बीचमा एकताको बोरमा सैद्धान्तिक सहमति भएपछि नेकपाका अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीचको आन्तरिक विवादको कारण एकता प्रक्रिया धकेलिँदै आएको थियो ।