फ्रान्सको ८५० वर्ष पुरानो चर्चमा आगलागी

230

बैहाख ३, एजेन्सी,
काठमाडौँ -पेरिसस्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ । मध्यकालीन फ्रान्सको वैवभका रूपमा रहेको नोट्र ड्याम अर्थात् आवर लेडी अफ पेरिस सोमबार राती लागेको आगोले लगभग खरानी भएको छ।

AFP

युनेस्कोको विश्व सम्पदामा सूचीकृत नोट्र ड्याममा सोमबार साँझ स्थानीय समयअनुसार पौने सात बजे आगो लागेको थियो। फ्रान्सको गोथिक आर्किटेक्चरको नमूनामा मानिने उक्त क्याथोलिक क्याथेड्रलमा लागेको आगो निभाउन ४०० अग्निनियन्त्रकलाई झन्डै आठ घन्टा लाग्यो।

सन् ११६० मा काम सुरू गरेर १२६० मा तयार भएको ८ सय वर्ष पूरानो आफ्नो सम्पदा जलेको हजारौं पेरिसवासीले लामवद्ध बनेर हेरेका थिए। तीमध्ये धेरैका आँखामा आँशु थियो। आगो नियन्त्रण गर्ने क्रममा एक जना अग्निनियन्त्रक घाइते भएको बताइएको छ। आगो के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन। राष्ट्रपति इमान्युल म्याक्रों देशवासीका नाममा गर्न लागेको सम्बोधन स्थगित गरेर घटनास्थल पुगेका थिए।

उनले आफ्नो सरकारलेनोट्र ड्यामको पुनर्निर्माणलाई अभियानको रूपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन्। त्यसका लागि उनले फ्रान्सभित्र र बाहिर रहेकाहरूसँग फ्रान्सेलीहरूमा सहयोगको अपिल गरेका छन्। गुसी लगायतका ब्रान्डको उत्पादक केरिङका प्रमुख कार्यकारी अधिकृतले ११३ मिलियन अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको समाचार संस्था एएफपीले जनाएको छ।

AFP

नोट्र ड्याम जल्दा संसारभरका नेताहरूले फ्रान्सलाई समवेदना पठाएका छन्। जर्मन चान्सलर एन्केला मर्केलले नोट्र ड्याम फ्रान्स र पूरै युरोपको साँस्कृतिक प्रतीक भएको बताएकी छन्। बेलायती प्रधानमन्त्री थेरेसा मेले फ्रान्सेली नागरिकमा समवेदना व्यक्त गरेकी छन्। भ्याटिकन सिटीले फ्रान्स र विश्वभरि नै क्रिश्चियानिटीको प्रतीकमाथिको आगलागी दुखित र भावविह्वल भएको जनाएको छ।