कुलमानले समालेको विद्युत प्राधिकरणको नाफा एकै वर्षमा २ अर्ब ८४ करोड

253
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ

चैत २९
काठमाडौँ -विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियन अहिले प्राधिकरण नाफामा नरहेको दावी गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध आन्दोलनमा छ । तर, नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४र७५मा खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको महालेखापरीक्षक कार्यालयले गरेको लेखापरीक्षणमा देखिएको छ ।

महालेखाले शुक्रबार सार्वजनिक गरेको छपन्नौँ वाषिर् प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ । आर्थिक वर्ष २०७२र७३मा जगेडा तथा संचित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो ।

गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको छ । विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४र७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वाषिर्क प्रतिवेदन सार्वजनिक गरेका थिए । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो ।

२०७३को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोडसेडिङ अन्त्य मात्रै गरेनन् घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका छन् ।

घिसिङको नेतृत्वमा विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३र७४मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद संस्थालाई नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४र७५मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र नीजि क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।

प्राधिकरणको शेयर पूँजी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत कुल पुँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ ।

अचल सम्पत्तितर्फ स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ रहेको छ । गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।-अनलाइनखबर