नेपालको प्राथमिक तहको विद्यार्थी भर्नादर विश्वकै उत्कृष्ठ

283

चैत २६,
काठमाडौं -नेपालको प्राथमिक तहमा विद्यार्थीको भर्नादरमा भएको प्रगति विश्वकै उत्कृष्ट मध्ये एक भएको संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले जनाएको छ । युनिसेफले विश्वभर गरेको प्राथमिक शिक्षा सम्बन्धी अध्ययन प्रतिवेदनमा नेपालमा ८६ प्रतिशत बालबालिका प्रारम्भिक शिक्षाको पहुँचमा पुगेको उल्लेख छ ।

सन् २००० मा १२ प्रतिशत बालबालिका प्राथमिक शिक्षाका लागी भर्ना भएको नेपालमा सन् २०१७ मा ८६ प्रतिशत भर्ना भएको तथ्यांकले देखाएको छ । युनिसेफले पहिलो पटक प्राथमिक शिक्षाबारे गरेको अध्ययनमा विश्वभर सुधार देखिएको जनाएको छ । गत १२ बर्षमा प्रारम्भीक बालविकास केन्द्रको स्थापना ३५ प्रतिशतले बृद्धि भएको युनिसेफले उल्लेख गरेको छ ।

सन् २००३ मा १ हजार ३८ बालविकास केन्द्र रहेको नेपालमा सन् २०१५ मा ३५ हजार ९ सय ९१ केन्द्र स्थापना भएका थिए । विद्यालय पुग्ने हरेक विद्यार्थीले कम्तीमा १ वर्षको प्राथमिक शिक्षाको अनुभव प्राप्त गर्नु सकारात्मक भएको युनिसेफले जनाएको छ । यसले शिक्षाको महत्व बढ्ने, कक्षा दोहोर्‍याउने समस्या कम भएको तथा विद्यालय जान छाड्ने समस्यामा कमि आएको प्रतिवेदनमा जनाईएको छ ।

गुणस्तरीय प्राथमिक शिक्षा प्राप्त गरेकाको आयु लामो हुने, स्वस्थ्य जिवन शैली अपनाउने, रोजगारमा सहज पहुँच, आर्थिक स्थितिमा सुधार तथा सानो उमेरमा आमा बन्ने समस्या र लागुऔषध तथा मादक पदार्थको सेवनमा समेत कमि आएको अध्ययनमा उल्लेख छ । नेपाल सरकारले प्राथमिक शिक्षाका कुल शैक्षिक बजेटको ३ प्रतिशत मात्रै खर्च गरेकाले प्राथमिक शिक्षाको गुणस्तर भने सन्तोषजनक नरहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी अध्ययन अनुसार नेपालमा कम्तिमा माध्यामिक तहसम्म पढेका आमाका सन्तानले स्तरीय प्राथमिक शिक्षा पाएका छन् ।