महोत्तरीको छुट्टाछुट्टै ठाँउमा २ बालकको मृत्यु

97
सांकेतिक तस्विर

चैत २१,
गौशाला– महोत्तरीको लोहारपट्टि नगरपालिकामा आज बिहान छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान लोहारपट्टि–३ महदैया बस्ने अख्तर कवाडीका छोरा ६ महिनाका दिलमहमद खाटबाट लड्दा मृत्यु भएको हो ।

आफ्नी आमासँग आफ्नै घरमा सुतेका दूधेबालक महमद आज एकाबिहानै अचानक सुतेकै अवस्थामा खाटबाट लडेपछि उनी नरुने, कराउने र नबोल्ने भएपछि परिवारजनले तत्काल उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगेकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै लोहारपट्टि–१ बगडा बस्ने धनी रामका छोरा पाँच वर्षीय आकाशको पनि उपचारका क्रममा आज बिहान जनकपुर अञ्चल अस्पतालमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनलाई यही चैत १४ गतेका दिन बिहान आफ्नै घरमा भात पकाएर राखिएको माड ९सीता० मा पोलेर गम्भीर रुपमा घाइते भई अस्पतालमा उपचाररत रहेकामा आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटोमा दिसा गर्ने १७ जना पक्राउ

खुल्ला दिसामुक्त अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्ने १७ लाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार प्रहरी र खुल्ला दिसामुक्त अभियानकर्मीले आज बिहान जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका विभिन्न वडाबाट १७ लाई बाटोमा दिसा गर्नेलाई पक्राउ गरी ल्याएको छ ।

जलेश्वर नगरपालिका–३, ४, ६ र १२ मा बाटोमा दिसा गर्दै गरेकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ परेकालाई जनही ५०० जरिवाना गरेपछि छाडिनेछ । महोत्तरी खुल्ला दिसामुक्त गर्न अभियानकर्मी, प्रहरी, प्रशासन सबै एकजुट भएर लागे पनि दैनिकजसो १२ भन्दा बढी मानिस पक्राउ पर्ने गरेका छन् ।-रासस