Saturday, September 19, 2026
Home अन्तर्राष्ट्रिय किमको भ्रमणअघि रुसी गृहमन्त्रीको टोली उत्तर कोरियामा

किमको भ्रमणअघि रुसी गृहमन्त्रीको टोली उत्तर कोरियामा

69

चैत १९, एजेन्सी,
प्योङयाङ– रुसका गृहमन्त्रीको नेतृत्वमा वरिष्ठ अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डलले उत्तर कोरियाको भ्रमण गरेको छ । कोरियाली केन्द्रीय समाचार समिति (केसिएनए) ले रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोल्सेभको नेतृत्वमा रुसको उच्च पदाधिकारीको एक टोली सोमबार प्योङयाङ भ्रमणमा आएको जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ–उनले यसै महिनाभित्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा रुसको भ्रमण गर्ने सम्भावना छ । उक्त भ्रमणको तयारीका लागि पनि रुसी गृहमन्त्रीको भ्रमण भएको अडकलबाजी गरिएको छ ।

केहीअघि मात्र कार्यवाहक सेनाप्रमुख किम चाङ–सोनले मस्को र भ्लाडिभोस्टकको भ्रमण गरेका थिए । उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर बैठक गर्नुअघि चार पटक चीनको भ्रमण गरिसकेका छन् । तर किमले सन् २०११ मा सत्ता सम्हालेयता रुसको भ्रमण गरेका थिएनन् ।

हाल, उत्तर कोरियाले रुससँगको सम्बन्ध सुदृढ तुल्याउन कुटनीतिक पहललाई तीव्र बनाएको छ । खासगरी अमेरिकी राष्ट्रपतिसँगको हनोई वार्तामा सोचेजति प्रगति नभएपछि उत्तर कोरियाले कुटनीतिक पहललाई तीव्र बनाउन लागेको हो ।–एएनआई