हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गरिने

142

चैत १९
काठमाडौँ -नेपाल प्रहरी श्रीमती सङ्घले बारा तथा पर्साका हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गर्ने भएको छ । सङ्घले आइतबार साँझ हावाहुरीले क्षति पु¥याएको बारा र पर्साका विभिन्न बस्तीमा त्रिपाल, खाद्यान्न र सरसफाइका सामग्री वितरण गर्न लागेको हो ।

सङ्घका अध्यक्ष प्रमिला खनालले हावाहुरी प्रभावितलाई तत्काल राहतस्वरुप सङ्घले उक्त सामग्री वितरण गर्न लागेको जानकारी दिनुभयो । “खाद्यान्नलगायत सामग्री आजै बारा र पर्सा लगेर वितरण गछौँँ,” उहाँले भन्नुभयो । विसं २०४१ मा स्थापना भएको सङ्घले स्थापनाकालदेखि सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको छ । हावाहुरी प्रभावितको उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट १९ विशेषज्ञ चिकित्सकसहितको टोली उपचारमा खटिएको छ ।

यसैबीच सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हावाहुरीबाट प्रभावित बारा र पर्साका विभिन्न बस्तीको अवलोकन गर्नुभएको थियो । अवलोकनको क्रममा महानिरीक्षक खनालले खोज, उद्दार र राहतमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । हावाहुरीबाट बारामा २६ र पर्सामा एकजनाको ज्यान गएको थियो भने ६०० भन्दा बढी घाइते भएका थिए । मृत्यु हुनेमा २३ नेपाली र चार भारतीय रहेको गृह मन्त्रालयले जनाएको छ ।-रासस