चैत १७,
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले एकै ठाउँबाट स्वास्थ्य उपचारदेखि सम्पूर्ण सरकारी सेवा उपलब्ध गराउने गरि बृहत एकीकृत घुम्ती शिविर आयोजना गर्ने भएको छ । सरकारले घरदैलो मै सरकारी सेवा पुर्याउन सुरु गरेको अभियान अन्तर्गत यस नगरपालिकाले आगामी २० गते बुधबार जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुबाट जनतालाई दिने सेवाहरु एकै पटक एउटै थलोबाट प्रवाह गरिने गरि शिविर संचालन गर्ने भएको हो । चाँगुनारायण नगरपालिका वडा नं. १ परोपकार केन्द्रसंगै निर्माणाधिन बीर अस्पताल परिषरमा आयोजना गर्ने उक्त शिविरमा जिल्लाका सेवाप्रदायक सरकारी निकायले प्रवाह गर्ने सबै सेवाहरु शिविर मै एकै पटक प्रदान गरिने नगरपालिकाकाले जानकारी दिएको छ ।
शिविरमा बीर अस्पताल, काठमाण्डौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, शहिद धर्मभक्त अंग प्रत्यारोपक केन्द्र, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाली सेनाका विशेषज्ञ सेवा सहितको बृहत निःशुल्क स्वास्थ्य शिबिर, स्वास्थ्यका सम्पूर्ण विशेषज्ञ सेवाहरु प्रदान गरि निःशुल्क औषधी वितरण समेत गरिने भएको छ । त्यसैगरि जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता, राहदानी, नाबालक परिचय पत्र, आदिवासी जनजाति प्रमाणपत्र, अपाङ्गता परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र लगायतका सेवा प्रवाह गरिने छ । शिविरमा डिभिजन वन कार्यालय भक्तपुरबाट विरुवा वितरण, जनचेतनामूलक कार्यक्रम, डिभिजन खानेपानी कार्यालयबाट खानेपानीको शुद्धता परीक्षण, जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग दर्तालगायतका सेवा प्रदान गरिने नगर प्रमुख सोम प्रसाद मिश्रले बताए ।











