Monday, September 28, 2026
Home पत्रपत्रिका मेचीदेखि कालीसम्म पुलको बेहाल, बजेटमा ठेकेदारको मस्ती, जनतालाई पुरानै सास्ती

मेचीदेखि कालीसम्म पुलको बेहाल, बजेटमा ठेकेदारको मस्ती, जनतालाई पुरानै सास्ती

251

चैत ५,
नयाँ पत्रिका, काठमाडौँ 

सयथरी पुल एउटै ताल

खोलाको चौडाइभन्दा ८२ मिटर छोटो पुल अलपत्र

संखुवासभा र भोजपुर जोड्न अरुण नदीको लम्सुवाघाटको पुल

संखुवासभा र भोजपुर जोड्न अरुण नदीको लम्सुवाघाटको पुल २५ असार ०७० मै तयार हुनुपर्ने थियो । १३ करोड पाँच लाखमा पुल बनाउन  सम्झौता भएको आठ वर्षसम्म जम्मा सात पिलर ठडिएका छन् । वर्षौंअघि बनेका पिलर खोलाको बहावले काटिएर आफैं रुग्ण बनेका छन् । दुईपटक थपेर सम्झौताको म्याद आठ वर्ष पुर्‍याइएको छ । त्यस्तै, लागत १३ करोड पाँच लाखबाट १६ करोड ६३ लाख पुर्‍याइएको छ ।  पुल कहिले बन्छ निश्चित छैन, तर पुल बने पनि जनताले खोला तर्न नपाउने निश्चित छ । किनकि, खोलाको चौडाइभन्दा पुलको लम्बाइ ८२ मिटर छोटो छ । ‘लम्सुवाघाटमा एक सय ६५ मिटर लामो पुल बन्दै छ, तर नदी फैलिँदै जाँदा दुई सय ४७ मिटर चौडा भएको छ । अहिलेको डिजाइनमा पुल तयार हुँदा नदीको बहावभन्दा ८२ मिटर छोटो बन्छ,’ सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले नयाँ पत्रिकासँग भने, ‘पुल तयार भए पनि प्रयोग सम्भव हुँदैन ।’ थप ८२ मिटर के गर्ने भन्ने अहिलेसम्म टुंगो छैन ।

रुकुम : सानीभेरीको पुलमा तेस्रोपटक म्याद थप्न निवेदन
जुम्ला : ०७१ मा सकिनुपर्ने पुलको डिजाइन गलत भएको ०७२ मा पत्ता लाग्यो

जुम्लाबाट डोल्पा जोड्न दानसाँघुमा निर्माणाधीन पुल आठ वर्षदेखि अलपत्र
जुम्लाबाट डोल्पा जोड्न दानसाँघुमा निर्माणाधीन पुल आठ वर्षदेखि अलपत्र

-पश्चिम रुकुमको सानीभेरीमा पुल बनेपछि सदरमुकाम मुसिकोटबाट प्रदेश राजधानी सुर्खेत १६८ किमि टाढा हुन्छ । तर, ०७० मै सम्झौता भएको पुल नबन्दा स्थानीय बासिन्दालाई सुर्खेत पुग्न ३४० किमि यात्रा गर्नुपर्छ । अहिले सुर्खेत जान सल्यान, दाङ, कोहलपुर घुम्नुपर्ने

-जुम्लाबाट डोल्पा जोड्न दानसाँघुमा निर्माणाधीन पुल आठ वर्षदेखि अलपत्र छ । ०७१ असारमा सक्ने सम्झौता भएकोमा ०७२ मा डिजाइन गलत भएको पत्ता लागेको थियो । ३ करोडको स्टिमेटमा सुरु गरिएको पुलमा ७ करोड खर्च भइसक्यो, अझै ५ करोड लाग्ने अनुमान छ ।

रातु खोलामा पप्पु कन्स्ट्रक्सनको रमिता

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ स्थित रातु खोलामा पक्की पुल

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ स्थित रातु खोलामा पक्की पुल बनाउने ठेक्का पार्‍यो पप्पु कन्स्ट्रक्सनले । ०७१ मा ठेक्का लागेको यो पुल सम्झौताअनुसार ०७३ पुस मसान्तसम्म बनिसक्नुपर्ने थियो । तर, १४ करोड ६४ लाख लागतको पुलले आकारसमेत लिएको छैन । ०७२ मा पिलरका लागि गाडिएका रडले तीन वर्षको घामपानी खाएका छन् । रड खिया लागेर मक्किसकेका छन् । स्थानीयलाई खिया लागेका रडमा पुल बन्ला भन्ने डर छ, नबने दुःख छँदै छ ।

खोइ बजेट ? ठेकेदारले लग्यो, खोइ पुल ? खोलाले बगायो 


झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकालाई जोड्ने रतुवा खोलामा झन्डै ५ सय मिटर लामो पुल ११ करोड खर्च गरेर बनाइयो । पुल बनाएलगत्तै बाढीले पूर्वतर्फको १ सय मिटर भाग बगाइदियो । अहिले खोला एकातिर छ, अधकल्चो पुल अर्कैतिर ठडिएको छ । बगेको भागलाई रिडिजाइन गरेर बनाउने काम सुरु भएको छैन । १२ वर्षदेखि पुल अलपत्र छ । कालिका कन्स्ट्रक्सन र आशिष निर्माण सेवाले संयुक्त रूपमा बनाएको पुलको सबै भुक्तानी निर्माण कम्पनीले लगिसकेको छ । स्थानीयका अनुसार खोलाको बहाव विस्तार भएको विषयमा अध्ययन नगरी डिपिआर तयार गरिएको थियो । सुनसरी मोरङ पुल आयोजना गठन गरी यो पुल बनाइएको थियो । अहिले सो आयोजना नै खारेज भइसकेको छ । पुलको स्वामित्व लिने अड्डा पनि भेटिएको छैन ।