Wednesday, October 7, 2026
Home शिक्षा बिएभन्दा बिएस्सीको नतिजा कमजोर, त्रिचन्द्र कलेजमा विज्ञान विषयको क्षमता ९६०, विद्यार्थी ३५००

बिएभन्दा बिएस्सीको नतिजा कमजोर, त्रिचन्द्र कलेजमा विज्ञान विषयको क्षमता ९६०, विद्यार्थी ३५००

77

चैत ४, नयाँ पत्रिका,
काठमाडौं,

-उपकरण नै नदेखी सकिन्छ विज्ञानको पढाइ

-त्रिचन्द्रमा क्षमताभन्दा तेब्बर बढी विज्ञानका विद्यार्थी भर्ना

त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पसमध्ये २४ मा विज्ञान कार्यक्रम सञ्चालित छ । तर, अधिकांश क्याम्पसमा यस विषयको पठनपाठनको अवस्था नाजुक देखिन्छ । कतिपय क्याम्पसमा प्रयोगात्मक उपकरण नै देख्न नपाई पढाइ सक्नुपर्ने अवस्था छ । क्षमताभन्दा बढी विद्यार्थी, शिक्षक अभाव, प्रयोगशाला अभाव, लापरबाहीजस्ता समस्याले विज्ञान कार्यक्रम सञ्चालित देशभरका क्याम्पसलाई गाँजेको देखिन्छ ।

विश्वविद्यालय अनुदान आयोगले बिएस्सी र एमएस्सी कक्षा सञ्चालन गरिरहेका आंगिक क्याम्पसहरूको अवस्था अध्ययन गर्न प्रा.डा. राजु खनालको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले त्रिविका २४ र मध्यपश्चिम तथा सुदूरपश्चिम विश्वविद्यालयको अवस्था अध्ययन गरेर प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनअनुसार पछिल्ला वर्षमा बिएमा भन्दा बिएस्सीको नतिजा कमजोर छ । ०७४ मा बिएस्सीका ४०.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । सोही वर्ष बिएमा भने ४४.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ०७३ मा पनि स्नातक तहमा बिएस्सीको भन्दा बिएको नतिजा राम्रो छ । सो वर्ष बिएस्सीमा ३५.९९ र बिएमा ३९.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

समितिले बुझाएको ‘बिएस्सी र एमएस्सी कक्षा सञ्चालन गरिरहेका आंगिक क्याम्पसहरूको अवस्था प्रतिवेदन, २०७५’ ले कतिपय क्याम्पस विज्ञान कार्यक्रम सञ्चालन गर्न अनुपयुक्त भएकाले बन्द गर्नसमेत सिफारिस गरेको छ ।

त्रिचन्द्र कलेज : विज्ञानमा क्षमता ९६०, विद्यार्थी ३५००
त्रिविको विज्ञान विषयको कुल क्षमताको ४० प्रतिशत विद्यार्थी त्रिचन्द्रमा पढ्छन् । अध्ययन समितिले त्रिचन्द्रमा विज्ञानका सबै विषयमा गरी कुल ९ सय ६० विद्यार्थी क्षमता रहेको ठहर गरेको छ । यहाँ १८ वटा फरक समूहमा विज्ञान विषय पढाइ हुन्छ । तर, यहाँ ३५ सय विद्यार्थी भर्ना हुन्छन् ।

त्रिचन्द्रमा प्रयोगात्मक पढाइको अवस्था पनि नाजुक छ । फिजिक्समा एउटा प्रयोगात्मक कक्षामा १२० जनासम्म राखेर पढाइन्छ र परीक्षा लिन मात्र ४५ दिन लाग्ने गरेको छ । माइक्रोबायोलोजीमा करिब १२ सय विद्यार्थी हुने र ६०–७० जनाको समूहमा प्रयोगात्मक हुने गरेको छ । केमेस्ट्री अध्ययन गर्ने विद्यार्थीलाई केमिकल अभाव छ । बायोलोजी, बायोकेमेस्ट्रीलगायत विषयमा नयाँ कोर्स पढाउने शिक्षकसमेत नभएको विद्यार्थीको गनासो छ ।

अध्ययन समितिले कलेजको प्रयोगशाला पुनर्निर्माण गर्न सिफारिस गरेको छ । अहिलेको प्रयोगशालाको क्षमताअनुसार ९६९ विद्यार्थी कोटा तोक्न पनि समितिले सिफारिस गरेको छ ।

भक्तपुर बहुमुखी क्याम्पस : एक शिक्षकबराबर तीन विद्यार्थी, तर उपकरण प्रयोगविहीन
भक्तपुर बहुमुखी क्याम्पसमा विज्ञान कार्यक्रममा कुल विद्यार्थी संख्या १३८ छ । तिनलाई पढाउन २५ पूर्णकालीन र १८ आंशिक शिक्षक छन् । तीन विद्यार्थीबराबर एक शिक्षकको अनुपात हुँदा पठनपाठनको गुणस्तर उच्च हुनुपर्ने हो । तर, क्याम्पसको स्थिति त्यस्तो छैन । प्रयोगशाला र उपकरण प्रयोगविहीन छन् । विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयले क्याम्पसको बोटानिकल डिपार्टमेन्टलाई दिएको अटोक्लेव, ओभन, इन्कुभेटर प्रयोगमै आएका छैनन् । बायोलोजी र बोटानीमा टिस्युकल्चर र मलिक्युलर बायोलोजीको पाठ्यक्रम रहे पनि प्रयोगशाला र पढाउने शिक्षक छैनन् । केही उपकरणको ‘सिपिङ बक्स’ नै खोलिएको छैन ।

पद्मकन्या क्याम्पस : प्रयोगशाला छन्, प्रयोग छैन
पद्मकन्या क्याम्पसमा पाठ्यक्रममा भएका विषयको प्रयोगात्मक अध्ययन हुने गरेको छैन । बायोलोजी, बोटानी र माइक्रोबायोलोजीमा प्रयोगात्मक हुँदैन । केमेस्ट्रीमा स्पेक्ट्रोफोटोमिटर भए पनि सञ्चालनमा छैन । सो उपकरण शिक्षकलाई समेत चलाउन नआएको गुनासो विद्यार्थीले गरेका छन् । फिजिकल केमेस्ट्रीको प्रयोगशाला नै छैन । बोटानीमा टिस्यु कल्चरसम्बन्धी प्रयोगात्मक कक्षा हुँदैन भने माइक्रोबायोलोजीमा कोर्सअनुसार २० प्रतिशत पनि प्रयोगात्मक हुँदैन ।

अमृत साइन्समा उपकरण र सामग्री अभाव
लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा प्रयोगशालामा उपकरण र सामग्री अभाव छ । कम्प्युटेसनल ल्याब पढाउने शिक्षक छैनन् । केमेस्ट्रीको अनुसन्धान प्रयोगशाला निकै सानो छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस ः चाहिनेभन्दा नचाहिने केमिकल बढी
भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको प्रयोगशालाको अवस्था दयनीय छ । प्रयोगशालामा गुणस्तरहीन सामग्री आउने र पाठ्यक्रमअनुसारको प्रयोगात्मक नहुने अवस्था छ । बोटानी विभागमा सामान भएर पनि विषयगत शिक्षक अभावमा टिस्यु कल्चरको प्रयोगात्मक कक्षा हुन सकेको छैन । केमेस्ट्री शिक्षकका अनुसार क्याम्पसमा चाहिनेभन्दा नचाहिने केमिकल बढी आउँछ । निजी कलेजमा धाउने शिक्षकका कारण पठनपाठन नै प्रभावित भएको छ ।

पृथ्वीनारायण क्याम्पस : प्रयोगात्मकमा क्षमताभन्दा दुई गुणा विद्यार्थी
पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा केही विषयका प्रयोगात्मक कक्षामा समस्या छ । फिजिक्समा प्रयोगशालाको क्षमताभन्दा दुई गुणा बढी विद्यार्थी सहभागी हुने गरेका छन् । केमेस्ट्रीमा केमिकल अभाव छ । बायोलोजीमा माइस्क्रोस्कोपसमेत अभाव छ । पुराना शिक्षकले नोट दिने, तर राम्रोसँग नपढाउने समस्या छ । शिक्षक निजी कलेज धाउँछन् ।

ठाकुरराम बहुमुखी क्याम्पस : अयोग्य प्रयोगशाला
वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका कुनै पनि प्रयोगशाला विद्यार्थीका लागि प्रयोग योग्य छैनन् । मलिक्युलर बायोलोजीको प्रयोगात्मक हुँदैन । केही विषयमा उपकरण अभाव हुने गरेको छ । गणित र तथ्यांकशास्त्रका लागि कम्प्युटर प्रयोगशाला छैन ।

रामस्वरूप–रामसागर बहुमुखी क्याम्पस : २० वर्षदेखि आएको छैन सामान
जनकपुरस्थित रामस्वरूप–रामसागर बहुमुखी क्याम्पसका प्रयोगशालासमेत प्रयोगयोग्य छैनन् । क्याम्पसमा २० वर्षदेखि विज्ञानका सामान आएका छैनन् । कतिपय शिक्षक पढाउनसमेत योग्य नभएको विद्यार्थीले गुनासो गरेका छन् । क्याम्पसमा बोटानीबाहेकका विषयमा प्रयोगात्मक कक्षा हुँदैन ।

सूर्यनारायण–सत्यनारायण क्याम्पस : बिएस्सी बन्द गर्न सुझाब
सिरहाको सूर्यनारायण–सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसमा बिएस्सी कार्यक्रम अत्यन्तै कमजोर छ । पहिले आइएस्सी हुँदा सञ्चालनमा आएको प्रयोगशाला अहिलेसम्म सुधार र स्तरोन्नति गरिएको छैन । बायोलोजी र केमेस्ट्रीमा कुनै प्रयोगात्मक हुँदैन । विद्यार्थी संख्या पनि थोरै छ । अध्ययन समितिले सो क्याम्पसको बिएस्सी कार्यक्रम बन्द गर्न सुझाब दिएको छ ।

महेन्द्र विन्देश्वरी : प्रयोगात्मक उपकरणमा खिया
राजविराजस्थित महेन्द्र विन्देश्वरी क्याम्पसको विज्ञान कार्यक्रम भद्रगोल छ । उपकरणमा खिया लागेका छन् । प्रवीणता प्रमाणपत्र तह हुँदा जे अवस्थामा सञ्चालन थियो अहिले सोही अवस्थामै छ । उपकरण पुराना र लामो समय प्रयोगमा आएका छैनन् । ग्लास बोतलमा रहेका केमिकल सुकेका र प्रयोगशालामा डिस्टिल वाटर बनाउने मेसिन खिया लागेर बिग्रिएका छन् । प्रयोगशालामा माइक्रोबायोलोजी कल्चरको व्यवस्था छैन । त्यसैगरी पाठ्यक्रमअनुसार मलिक्युलर बायोलोजी, बायोकेमेस्ट्रीको प्रयोगशाला स्थापना नै गरिएको छैन ।

स्नातकोत्तर क्याम्पस : शिक्षकले बाँड्छन् कीर्तिपुरको फोटोकपी
विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा उपकरण र प्रयोगशालाको अवस्था राम्रो छैन । उपकरण चल्दैनन्, प्रयोगशाला कक्षा धुलाम्मे र फोहोर छन् । फिजियोलोजी, प्याथोलोजी, जिनेटिक्स, साइटोलोजीजस्ता विषयमा प्रयोगात्मक कक्षा हुन सकेका छैनन् । पुस्तक छैनन् । शिक्षक अभाव छ । कीर्तिपुरबाट फोटोकपी गरेर ल्याइएका नोट विद्यार्थीलाई बाँडिन्छ । डिन कार्यालयबाट आएका उपकरण सबै गुणस्तरहीन छन् ।

केन्द्रीय प्रविधि क्याम्पस : अवस्था राम्रो
धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको अवस्था भने राम्रो छ । केही विषयबाहेक अन्यमा उपकरणको व्यवस्था छ । खाद्य प्रविधिको पाठ्यक्रमअनुसार करिब ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन भएका छन् । शिक्षक र विद्यार्थीको सहकार्यमा विभिन्न खाद्यसामग्रीसमेत उत्पादन गरिएको छ । विद्यार्थीले जुस, सिस्नो पाउडर उत्पादन गरेका छन् । प्रयोगात्मक कक्षा राम्रो भएका कारण पनि खाद्य प्रविधिमा विद्यार्थीको आकर्षण बढेको छ ।