Wednesday, October 7, 2026
Home शिक्षा कोरियाली भाषा परीक्षा आगामी जेठमा, कोटा बढ्यो

कोरियाली भाषा परीक्षा आगामी जेठमा, कोटा बढ्यो

100

फागुन २८,
काठमाडौँ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ ।

आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइट बाट अनलाइनमार्फत फारम भर्न सकिने छ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने छ ।

यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साविकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१९ का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।-रासस