पुनर्निर्माणको निराशाजनक तथ्य : ३ हजार बढी भत्केकोमा ८ सय बन्यो

81

फागुन २७
काठमाडौँ -महाभूकम्प २०७२ पछि सरकारले सार्वजनिक भवनको पुनर्निर्माणमा विशेष चासो र तत्परता नदेखाएकाले सार्वजनिक भवनकै पुनर्निर्माणको गति अत्यन्त निराशाजनक पाइएको छ । सरकारले शैक्षिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा, सुरक्षा निकाय तथा खानेपानी पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता नदिँदा प्रगति सुस्त देखिएको हो ।

भूकम्पपछि खानेपानी पूर्वाधारतर्फ ३ हजार २ सय १२ वटा पूर्वाधार पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ७ सय ९१ वटा मात्र पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६ सय ७० वटा पूर्वाधारको काम भइरहेको जनाएको छ । जसअनुसार ३ हजार ९१ वटा खानेपानीसम्बन्धी पूर्वाधारको काम हालसम्म पनि सुरु भएको छैन । खानेपानीको पूर्वाधार पुनर्निर्माणमा सरकारले लापारबाही गरेको पाइएको छ ।

सरकारले भूकम्पपछि स्वास्थ्य संस्थाको पुनर्निर्माणको लक्ष्य १ हजार १ सय ९७ राखेको थियो । त्यसमा ५ सय ४४ वटाको पुनर्निर्माण गर्नुपर्ने र ६ सय ५३ वटाको प्रबलीकरण गर्नुपर्ने रहेको थियो । जम्मा ३ सय १२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ भने ३ सय ३१ वटा भवनको प्रबलीकरणको काम सकिएको छ ।

प्राधीकरणले ५१ वटा भवनको पुनर्निर्माण र ९४ वटा भवनको प्रबलीकरण भइरहेको जनाएको छ । प्राधिकरणकै तथ्यांकअनुसार अझै पनि ४०९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणको कामसमेत अघि बढाइएको छैन । स्वास्थ्य संस्था जस्तो महत्वपूर्ण निकायमा पनि हालसम्म ४०९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण नै सुरु नहुनु दुःखद रहेको सम्बन्धित क्षेत्रका जानकारको गुनासो छ ।

प्राधिकरणले ७ हजार ५ सय ५३ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म ४ हजार १ सय ७२ वटाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । प्राधिकरणले २ हजार ५ सय ६ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको जनाएको छ । तथ्यांकले ८ सय ७५ वटा शैक्षिक संस्थाको हालसम्म पनि पुनर्निर्माणको काम सुरु नभएको देखाएको छ ।

सुरक्षा निकायतर्फ समेत १ सय ७१ वटा भवन निर्माणमा सरकारले चासो नदेखाएको पाइएको छ । प्राधिकरणका अनुसार ३ सय ८३ वटा भवनको पुनर्निर्माण लक्ष्य राखेकामा ९४ वटाको काम सम्पन्न भएको छ भने ११८ वटाको पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ । सुरक्षा निकायको भवनमा सरकारको तत्परता नहुँदा करिब ४ लाख बसोबास रहेको काठमाडौं हेर्ने नेपाल प्रहरी काठमाडौं परिसर र अपराध महाशाखा १२ वैशाख २०७२ यता पालमुनि बसेर सेवा प्रवाह गर्न बाध्य छ ।

सांस्कृतिक सम्पदाको पुनर्निर्माणको अवस्था पनि उस्तै निराशाजनक छ । ३ सय १५ वटा सम्पदाको काम अझै सुरु हुन सकेको छैन । प्राधिकरणले ७ सय ५३ वटा सम्पदाको पुनर्निर्माणको लक्ष्य लिएकामा २ सय १२ वटाको पुनर्निर्माण सम्पन्न गरेको छ भने २२४ वटा पुनर्निर्माणको अवस्थामा छन् ।

सरकारी भवनतिर पनि हालसम्म पनि २२ वटाको अझै सुरु हुन सकेको छैन । १६२ वटाको पुनर्निर्माण र २५३ वटाका प्रबलीकरणसहित ४१५ वटाको पुनर्निर्माण गर्नुपर्नेमा १६ वटाको पुनर्निर्माण र २३२ वटाको प्रबलीकरणअन्तर्गत पुनर्निर्माणको काम सम्पन्न भएको छ । पुनर्निर्माणतर्फ १२६ र प्रबलीकरणतर्फ १९ वटाको पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ । Rajdhani national daily