नयाँ पत्रिका/दिवाकर पन्त
फागुन २६, काठमाडौं । नेपाल पर्वतारोहण संघ ‘एनएमए’का पूर्वअध्यक्ष पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका लागि १५ र १६ फागुन जीवनमै सबैभन्दा बढी तनावले भरिएका दिनका रूपमा रहे । एसियन ट्रेकिङका सञ्चालक उनको इ–मेलमा दुई दिनमा २६ वटा श्रद्धाञ्जलीकासहित ७ सय ५१ वटा इमेल आएछन् । एकैपटक धेरै इ–मेल आउँदा उनको इ–मेल नै ह्याङ भयो । ठमेल छाया सेन्टर सामुन्ने छ, उनको कार्यालय । स्टाफ ती दुई दिन फोन उठाउन भ्याइ–नभ्याई थिए । सबैलाई स्पष्टीकरण दिँदा–दिँदा स्टाफहरू हैरान भए । उनकै मोबाइलको घन्टी पनि निरन्तर बजिरह्यो । सीधै उनको मोबाइलमा कल गर्नेहरूले सानो स्वरमा सोध्थे, ‘आर यू आङछिरिङ, आर यू ओके रु’
१५ फागुनमा ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यती एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पासहित सातजनाको ज्यान गएको थियो । त्यस घटनालगत्तै अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जाल श्रद्धाञ्जलीले भरिए । दुर्घटनामा परेका आङछिरिङ मिडियामा आउन त्यति नरुचाउने व्यक्ति थिए । यता एनएमएका पूर्वअध्यक्ष आङछिरिङको भने पर्यटन व्यवसायीका नेतासमेत भएकाले गुगलमा तस्बिर सहजै भेटिन्थ्यो ।
अधिकांशले अनलाइनले समाचार एनएमएका पूर्वअध्यक्ष आङछिरिङको तस्बिरसहित पोस्ट गरे भने सामाजिक सञ्जालमा पनि उनकै तस्बिर पोस्ट भए । त्यसैले उनले मात्र होइन, उनका कार्यालयका स्टाफले पनि निरन्तर एउटै स्पष्टीकरण दिनुपरेको थियो, ‘दुर्घटनामा परेको आङछिरिङ यती एयरका प्रबन्ध दिर्नेशक हुन् ।’ उनका हितैषी तथा शुभचिन्तकले फोनमा कुराकानी भएसँगै भन्थे, ‘ओ गड, थ्यांक्स ।’
तीन कार्यकाल एनएमएका अध्यक्ष भइसकेका उनी पर्यटन व्यवसायी, पर्यटनमा रुचि राख्ने र विश्वभरका पर्वतारोही तथा तिनका आफन्तसँग परिचित छन् । त्यसैले पनि उनको तस्बिरसहित श्रद्धाञ्जलीका समाचार तथा स्टाटस पोस्ट भएको हुन सक्छ भनेर भन्न सकिन्छ । तर, यसमा सञ्चारकर्मीको असावधानी पनि उत्तिकै जिम्मेवार देखिन्छ । सञ्चारकर्मीले ब्रेकिङ न्युज हाल्न हतार गर्दा उनले जीवित छँदै आफ्नो श्रद्धाञ्जली पढ्नुपर्यो । यसले दिएको तनाव र पीडा शब्दमा व्यक्त गर्नै नसकिने उनले बताए ।
१५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने आङछिरिङ शेर्पा यती एयरका प्रबन्ध निर्देशक हुन् । तर, दुर्घटनालगत्तै विभिन्न अनलाइनले नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको तस्बिरसहित समाचार पोस्ट गरे । जसका कारण उनको दुई दिन जीवनकै सबैभन्दा तनावपूर्ण समय बन्यो ।
दुवैजना एकै गाउँका
दुवै आङछिरिङको पुख्र्यौली थलो सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका– ४ हो भने दुवैजनाको पेसा पनि पर्यटन व्यवसाय नै हो । दुर्घटनामा ज्यान गुमाएका आङछिरिङले थामसेर्कु ट्रेकिङ कम्पनी खोलेर पर्यटन व्यवसाय अगाडि बढाएका हुन् भने जीवित छँदै श्रद्धाञ्जली पाउने आङछिरिङ एसियन ट्रेकिङका सञ्चालक । थामसेर्कु हुँदै यती एयरलाइन्स, गोकर्ण रिसोर्टसहित दुई दर्जन पर्यटनसम्बद्ध कम्पनीका सञ्चालक आङछिरिङ सीमित घेराका मानिसबीच मात्र रमाउने खालका थिए भने यती एसियनका आङछिरिङ भने पर्यटन सम्बद्ध संघ–संस्था, जातीय संघ–संस्था, सामाजिक कार्य सबैमा सहभागी हुने र पत्रकारबीच पनि घुलमिल हुने स्वभावका छन् ।
चिनजान काठमाडौंमा
दुर्घटनामा बितेका आङछिरिङ र एसियनका आङछिरिङको उमेरमा ७ वर्षको अन्तर छ । एउटै गाउँपालिकामा जन्म भए पनि उनीहरूबीच गाउँमा चिनजान भएको थिए । एसियनका आङछिरिङ सानै छँदा काठमाडौं छिरेका थिए । दुर्घटनामा बितेका आङछिरिङ पनि केहीपछि काठमाडौं आएका थिए । उनीहरू दुवैजना पर्यटन क्षेत्रमा सामेल थिए । सन् १९७८ तिर मात्र उनीहरूबीच चिनजान भएको थियो । ‘चिनजानपछि हामीबीच राम्रो सम्बन्ध विकास हुँदै गयो,’ उनले भने, ‘म टानको वरिष्ठ उपाध्यक्ष हुँदा उनी केन्द्रीय सदस्य निर्वाचित भए ।’ यती एयरका आङछिरिङ चढेको हेलिकोप्टर दुर्घटना भएको समाचार उनले ठमेलस्थित आफ्नै कार्यालयमा सुनेका हुन् । दुर्घटनालगत्तै उनको कार्यालय र मोबाइलको घन्टी बज्ने क्रम सुरु भइहाल्यो । उनको दुई दिन नेपालसहित अमेरिका, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बेलायतलगायतका देशमा रहेका उनका शुभचिन्तक, हितैषीलाई आफू स–कुशल रहेको जानकारी दिनमै बित्यो ।
मिडियाप्रति गुनासो
घटना भएको एक साता बितिसक्यो, अझै पनि उनी मोबाइलको घन्टी बज्दा तर्सन्छन् । किन ? उनी भन्छन्, ‘अझै पनि दिनमा एक–दुई कल आर यू ओके रु भनेर आउँछ ।’ विभिन्न अनलाइन तथा टेलिभिजन समाचार संप्रेषण गर्ने क्रममा संवेदनशील नभइदिँदा आफूले तनाव व्यहोर्नुपरेको उनको भनाइ छ । ‘ब्रिटिस माउन्टेनरिङ काउन्सिल त शोक विज्ञप्ति ठिक्क पारेको रहेछ,’ उनले भने, ‘तर, पछि नेपालस्थित बेलायती दूतावाससँग बुझ्दा दुर्घटनामा पर्ने म नभई अर्कै आङछिरिङ हो भन्ने थाहा पाएपछि शोक विज्ञप्ति नै रोकेको रहेछ ।’ यस्ता विषयमा कम्तीमा पनि भेरिफाई गरेर मात्र राख्न उनले आग्रहसमेत गरे । केही सञ्चारकर्मीले हतार गरेर भेरिफाई नगर्दा मैले त तनाव व्यहोरेँ नै, संसारभर रहेका मेरा शुभचिन्तक र हितैषीले पनि तनाव व्यहोर्नुपर्यो ।
दुर्घटनामा बितेका आङछिरिङ र एसियनका आङछिरिङको उमेरमा ७ वर्षको अन्तर छ । एउटै गाउँपालिकामा जन्म भए पनि उनीहरूबीच चिनजान भने भएको थिएन, सन् १९७८ तिर काठमाडौंमा भएको थियो । उनकै कार्यालयमा कफी पिउँदै हामीसँग कुरा गरिरहँदा उनी कहिले गम्भीर बन्थे भने कहिले हँसिलो मुडमा आउँथे । तनावको अवशेष अझै उनको अनुहारमा देखिन्थ्यो । ‘अब त दुई हप्ता भइसक्यो, बिस्तारै सहज हुँदै गएको छ,’ उनले भने, ‘तर, यतिका दिन बितिसक्दा पनि केही सञ्चारमाध्यममा अझै मेरै तस्बिर आइरहेको छ, दुई दिनअघि मात्रै पनि एउटा टेलिभिजनले मेरो तस्बिर स्क्रिनमा देखाएछ, अफिसका स्टाफले फोन गरेर भनेपछि मात्र हटायो ।’
नाम मिल्दा पटक–पटक समस्या
केही वर्षअगाडि पोखरामा सातजना मानिसले उनलाई घेरा हाले र कुट्न खोजे । उनी आफ्नो गाडीबाट ओर्लेर फेवातालको तालबाराही मन्दिर जान लागेका थिए । सुरुमा त ती मानिसहरूले आफूलाई किन घेरा हालेका हुन्, उनले पत्तो नै पाएनन् । उनी निकै डराए । तिनीहरू भन्दै थिए, ‘तपाईं नै होइन, हेमा मन्दिरमा आँखा लगाउने रु’ ठीक त्यहीवेला उनलाई चिन्ने तीनजना मानिस आइपुगे र ती मानिसहरूलाई रोके । अनि उनीहरूले नै भने, ‘हेमा मन्दिरमा आँखा लगाउने उहाँ होइन, अर्कै आङछिरिङ हो ।’ आङछिरिङ नाम गरेका अर्कै व्यक्तिले पोखराको हेमा मन्दिर भाडामा लिन खोजेका रहेछन् । त्यसबाट बेखुस उनीहरूले आङछिरिङलाई घेरा हालेका रहेछन् । सत्य थाहा पाएपछि तिनीहरूले माफ मागेको उनले बताए ।