नयाँ पत्रिका
फागुन २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०की राष्ट्रिय सभा सदस्य कोमल वलीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छिन् । दलित समुदायप्रति लक्षित उखान टुक्का प्रयोग गर्दा आफूबाट गल्ती भएको उनको भनाइ छ । भविष्यमा यस्ता शब्द प्रयोगप्रति सचेत रहने उनले बताएकी छिन् । ‘हिजोका कुविचार, कुव्याख्या तथा नमीठा शब्दहरू, भनाइहरू, उखानहरू, उत्पीडनहरू, समस्याहरू, सोचहरू, विचारहरू, मानसिकताहरू परिवर्तन हुँदै जाऊन् । बदलिँदो समयमा त्यस्ता उखानहरू प्रयोग गर्दा हामीले विशेष सावधानी अपनाउनु जरुरी छ । यो प्रकरणबाट मैले त्यही चेतना पाएको छु,’ बिहीबार विज्ञप्ति जारी गर्दै उनले भनेकी छिन्, ‘कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए त्यसप्रति म क्षमायाचना गर्छु ।’











