Wednesday, October 7, 2026
Home समाचार महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको दक्षिणा सहित बिदाइ

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको दक्षिणा सहित बिदाइ

107

फागुन २२
काठमाडौँ, महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेका थिए ।

गुठी संस्थानले श्रीमहन्त, थानापति, श्रीदीगम्बर, लालमोहर, नागा र महापुरुष गरी छ वर्गका नागाबाबालाई रु एक हजार ३०० देखि रु एक हजार ८०० सम्म दक्षिणा दिइएको साधु सन्त बिदाइ समिति संयोजक हरिप्रसाद जोशीले राससलाई जानकारी दिनुभयो । छ वर्गका ३०० नागा बाबालाई बिदाइ गरिएको उहाँले बताउनुभयो ।

अन्य महन्तमा मठाधीशलाई रु ९५१, सामान्य सन्तलाई रु ५५१ र सन्तको भेषधारीलाई रु ३५१ दक्षिणा दिइएको हो । यस्ता सात हजारसहित जम्मा सात हजार ३०० सन्तलाई बिदाइ गरिएको हो । संस्थानले साधुसन्त बिदाइका लागि रु १९ लाख बजेट छुट्याएको थियो । कोषले चार हजार ५०० सन्तलाई बिदाइ गरेको छ । कोषले पाँच वर्गमा विभाजन गरी साधुलाई बिदाइ गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । साधुसन्त बिदाइकै लागि कोषले रु १३ लाख बजेट छुट्याएको जनाइएको छ ।

महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति राममन्दिर, मृगस्थलीको गोरखनाथ मन्दिर, पशुपतिस्थित निर्मल अखडा, भष्मेश्वर, उमाकुण्ड, अन्नपूर्ण भण्डार, कालमोचनघाटको राममन्दिर, पुडाक्षी अखडा, सन्यासी अखडा र गोरखनाथ अखडामा साधुसन्तलाई राखी खाने बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो । महाशिवरात्रिका लागि भारतवर्षका विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन शुक्ल प्रतिपदाका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।-रासस