Sunday, September 27, 2026
Home समाचार उपत्यका हेर्न मध्यपुरमा दृश्यावलोकन स्तम्भ बनाईने

उपत्यका हेर्न मध्यपुरमा दृश्यावलोकन स्तम्भ बनाईने

118

फागुन २२,
भक्तपुर, मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

स्तम्भबाट मनोहरा, दिव्यश्वरी क्षेत्रका बस्ती, एसओएस, अन्तर्राष्ट्रिय विमानस्थल, हिमाललगायत चारैतिरको दृश्यावलोकन गर्न सकिन्छ । त्यस क्षेत्रमा दृश्यावलोकन स्तम्भसँगै नाट्यश्वरी पार्क, मन्दिर, अपाङ्ग तथा बालमैत्री बगैँचा, आर्टिफिसियल रक क्लाइम्बिङ, व्यायाम गर्ने ठाउँ, शौचालयलगायतका पूर्वाधार निर्माण गरिने र निर्माण भइसकेको दुईतले सामुदायिक भवनको रङ्गरोगन तथा व्यवस्थापन गरिने भएको छ ।

आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ । करीब रु सात करोडको बजेटमा निर्माण सम्पन्न हुने यहाँका संरचना निर्माणका लागि नगरपालिकाले यस वर्ष रु ७५ लाख बजेट विनियोजन गरेको छ ।-रासस