(नयाँ पत्रिका दैनिक) टेकराज थामी, कृष्ण रिजाल
फागुन २१, काठमाडौं । दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले प्रत्येक वर्ष झन्डै ४४ अर्ब रुपैयाँ हुन्डीमार्फत नेपाल पठाउने देखिएको छ । औपचारिक प्रणालीबाट कोरियाबाट नेपाल भित्रने रेमिट्यान्स र दक्षिण कोरियामा रहेका नेपालीको कुल कमाइलाई तुलना गर्दा त्यहाँबाट झन्डै आधा खर्ब रकम हुन्डीमार्फत नेपाल भित्रिने गरेको देखिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दक्षिण कोरियाबाट आर्थिक वर्ष २०७४/७५ मा रेमिट्यान्स कम्पनी तथा बैंकिङ प्रणालीबाट १८ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ ९सोमबारका लागि तोकिएको अमेरिकी डलरको खरिददरअनुसार० भित्रिएको देखिन्छ । यो रकम सोही अवधिमा कोरियामा नेपालीले गरेको आम्दानीभन्दा करिब ४४ अर्ब ६५ करोड रुपैयाँले कम हो । रोजगारका लागि दक्षिण कोरिया पठाउने सरकारको आधिकारिक निकाय ‘इम्प्लोइमेन्ट परमिट सिस्टम ९इपिएस० शाखा कार्यालयअनुसार दक्षिण कोरियामा नेपाली कामदारले प्रत्येक वर्ष न्यूनतम ६३ अर्ब रुपैयाँ कमाइ गरिरहेका छन् ।
त्यसो हुँदा बैंकिङ प्रणालीबाट नेपाल भित्रिने र कामदारले कमाइ गरेको रकमको अन्तर ४३ अर्ब ६५ करोड ३० लाख रुपैयाँ छ । अन्तर देखिएको सोही रकम हुन्डीमार्फत नेपाल भित्रिएको हो । नेपाल राष्ट्र बैंकले समेत यो तथ्यलाई स्वीकार गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाका अनुसार दक्षिण कोरियाबाट ठूलो परिणामको रेमिट्यान्स हुन्डीमार्फत नेपाल भित्रिन्छ । करिब २५–३० प्रतिशत रकम मात्रै औपचारिक प्रणालीबाट आउने गरेको उनले बताए ।










