नेपाल समाचारपत्र/सुनील महर्जन,
फागुन २०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदालाई सत्तारुढ दलका सासंदहरुले विरोध गर्न थालेका छन् । मन्त्रालयले तयार पारेको सो विधयेकले संघीयतालाई ठाडो नकार गरेको विषयमा नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघले विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग संघीय सांसदहरुको ध्यानाकर्षण गराउँदा उनीहरुले त्यसको विरोध गरेका हुन् । संघले एकपछि अर्को गरी प्रदेश, स्थानीय तहको अधिकार खोसिरहेको भन्दै महासंघ र संघले सो ध्यानाकर्षण गराइएको बुझिएको छ ।
सत्तारुढ दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न सांसदहरुले सो ऐनको मस्यौदाको विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । सो विषयमा सांसदहरुले केपी शर्मा ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सँगै राखेर कुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सांसद जनार्दन शर्माले संघीयतालाई क्रमशः धराशयी बनाउने खेलअन्तर्गत सो विधयेक आएको प्रतिक्रिया दिँदै त्यसलाई सच्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।