Sunday, September 27, 2026
Home समाचार जापान जान एन–४ तहको भाषा जरूरी

जापान जान एन–४ तहको भाषा जरूरी

137

फागुन १७,
काठमाडौं – रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन्।

जापानी भाषामा एन–४ तह उत्तीर्ण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो। केयर गिभरको काममा जानेको हकमा भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए।
‘केयर गिभरबाहेक अन्य काममा जानेको हकमा एन–४ तहको भाषा उत्तीर्ण गरे पुग्छ,’ ती अधिकारीले भने, ‘केयर गिभरको काममा जानेको जापानी भाषामा विशिष्ट खाले दक्षता चाहिने देखिएको छ।’ केयर गिभरको काममा जाने वृद्धवृद्धासँग नजिकमा रहेर स्याहारसुसार गर्नुपर्ने भएकाले भाषामा बढी दक्ष हुनुपर्ने जापानी अधिकारीहरूले बताउने गरेका छन्।

दुई महिनाअघि जापानको मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपाल उत्साहित छ। आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने भनिए पनि मन्त्रालय मार्चदेखि नै भाषा परीक्षणको प्रक्रिया थाल्ने तयारीमा छ। ‘सुरुमा दुई देशबीच श्रम समझदारी ९एमओयू० गरेर कामदार पठाउने सोचमा मन्त्रालय थियो,’ ती अधिकारीले भने, ‘एमओयू गर्न केही ढिला होला जस्तो देखिएकाले मार्चमै भाषा परीक्षण गर्ने तयारीमा छौं।’

जापान जानेले भाषाको साथै सम्बन्धित कामको अनुभव र सीप पनि सिकेको हुनुपर्छ
यद्यपि कामदार लैजाने प्रक्रियालगायत सबै विषयको टुंगो लगाउन भने एमओयूले सहयोग पुर्‍याउने उनको भनाइ छ। एमओयू गर्दा जापानको श्रमबाहेक गृह, कानुन, परराष्ट्र मन्त्रालयको पनि सहमति आवश्यक पर्ने भएकाले एमओयूमा केही ढिला भएको छ। एमओयूमा नियतवस नै जापानले ढिला नगरेको उनको भनाइ छ।
जापानको मन्त्रिपरिषद्ले दुई महिनाअघि विदेशी कामदार सम्बन्धी एक सय २६ बुँदे नीति पारित गर्दै नेपालसहित कम्बोडिया, चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स, भियतनाम लगायत देशबाट कामदार लैजाने निर्णय गरेको थियो।

जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ क्षेत्र तोकेको छ। पहिलो पाँच वर्षमा यी मुलुकहरूबाट तीन लाख ४५ हजार एक सय ५० कामदार जापान जानेछन्। त्यो संख्यामध्ये नेपाललाई कति कोटा दिइन्छ भन्ने अझै यकिन भइसकेको छैन।
मन्त्रालयका अधिकारीहरू पहिलो चरणमा न्यून संख्याका युवा रोजगारीका लागि जापान जान पाउने बताउँछन्। ‘कति संख्यामा जापान जान पाउने भन्ने त यकिन भएको छैन,’ उनले भने, ‘तर, पहिलो चरणमा निकै थोरै मात्र जापान जान पाउने सम्भावना छ।’

दुई देशका अधिकारीहरूबीच जापान कामदार पठाउने मोडल र प्रक्रिया टुंगो लगाउन बाँकी रहेकाले संख्याको पनि टुंगो लाग्न नसकेको बताइएको छ। मन्त्रालयले जापान कामदार पठाउने प्रक्रिया कोरिया मोडलको जिटुजीजस्तो प्रस्ताव गरेको छ। उक्त प्रस्तावमा जापानले कुनै प्रतिक्रिया जनाइसकेको छैन। Nagarik news