लोकप्रियताको लोभः आफ्नै साखमा कैँची

150

-योगेश ढकाल ( नेपाल साप्ताहिक)
फागुन १५, संसारैभरि सल्किइरहेको लोकप्रियतावादको डढेलोबाट नेपाल पनि मुक्त नहुने संकेत केपी ओली सरकारको एक वर्षले देखाइरहेको छ । एक वर्षयता प्रधानमन्त्री ओली र उनले हाँकेको मन्त्रिपरिषद् मात्रै होइन, नेकपा(नेतृत्वका अधिकांश प्रदेश र स्थानीय सरकारमा समेत यो प्रवृत्ति झांगिएको छ । लोकप्रियतावाद अर्थात् नारारकुरा मीठा, अपेक्षाभन्दा थोरै नतिजा ।
एकैछिन लोकप्रियतावादको वैश्विक हावालाई चिन्ने कोसिस गरौँ ।

ल्याटिन अमेरिकी देश ब्राजिलमा १ जनवरी २०१९ मा जाइर बोल्सोनारोले राष्ट्रपतिको शपथ लिए । दक्षिणका ट्रम्पु उपनामले परिचित बोल्सोनारोमाथि अनुदार, नश्लवादी, महिलाविरोधी मात्र होइन, आवेग, आक्रोशका वाहक, मिथ्या टिप्पणीकर्ता र रंगभेदी हुन् भन्ने आरोपसमेत छ । हुन पनि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उदय र बोल्सोनारोको उदय उस्तैउस्तै छ । उनीहरू सामाजिक सन्जालमार्फत उग्रराष्ट्रवादी अभिव्यक्ति प्रवाह गर्छन् । ब्राजिलमा उनीभन्दा निकै लोकप्रिय थिए, पूर्वराष्ट्रपति लुइस सिल्भा, जसले करिब ४ करोड नागरिकलाई गरिबीको दुश्चक्रबाट छुटकारा दिलाएको मानिन्छ । तर निर्वाचनमा सिल्भाको पार्टीलाई नराम्ररी हराएर बोल्सोनारोले भाग्य चम्काए ।

ल्याटिन अमेरिकी ब्राजिलका राष्ट्रपति बोल्सोनारोसँग नेपालका प्रधानमन्त्री ओलीका दुई गुण मिल्छन्, एक( राष्ट्रवाद, अर्को( स(साना विषयमा कडा टिप्पणी गरिहाल्ने । ०७२ को भारतीय नाकाबन्दीको चर्को आलोचनाबाट ओलीले ुराष्ट्रिय अडान भएका नेताु को छवि बनाए । त्यही छविबाट ०७४ को स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा जनता उनै नेतृत्वको नेकपा एमालेतर्फ आकर्षित भए । बोल्सोनारोले दक्षिणपन्थी झुकावका लागि जनमत सोहोरे, ओलीले कम्युनिस्ट आवरणमा । विश्व दक्षिणपन्थी झुकावले लपेटिएका बेला उग्रराष्ट्रवादका उस्तै मुद्दाबाट नेपालमा ुकम्युनिस्टु ओलीको उपस्थिति आफैँमा आश्चर्यको विषय थियो । उसो त, कतिपयले ओली वामपन्थको आवरणमा दक्षिणपन्थी मुद्दासँग लहसिइरहेको दाबी पनि गर्छन् ।

चीनमा सी चिनफिङ ुसपनाको चीनु सहित लोकप्रियताको तीव्र उडानमा छन् र बिस्तारै निरंकुश पनि । चीनमा दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाइने व्यवस्था चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिबाट हटाउन सफल भए । त्यसबाट सीको कार्यकाल सीमाहीन बन्न पुग्यो । महत्त्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यक्रम ल्याएका सीकै रफ्तार भेट्न नसके पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यस्तो मनोकांक्षाभन्दा धेरै भिन्न देखिँदैनन् । उग्रराष्ट्रवाद र विकासको नारालाई अगाडि सारेर मोदी लोकप्रियतालाई निरन्तरता दिने दौडमा छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबे हुन् या फिलिपिन्सका रोड्रिगो डुटेर्टे, हंगेरीका भिक्टर ओर्बान हुन् या पोल्यान्ड, इटाली, अस्ट्रियातिर उदाएका नेताहरू( यी सबैको उद्भवको जग राष्ट्रवादी मुद्दा हो । युरोपियन युनियनबाट बेलायती बहिर्गमनको जग र पाकिस्तानमा इमरान खानको उदयको आधार पनि त्योभन्दा फरक छैन । यी सबैमा ुलोकप्रियताका लागि हरसम्भवको प्रयासु मिल्दोजुल्दो शैली देखिन्छ । त्यही शैलीको पदचाप ओलीले पछ्याएको देखिन्छ । नागरिक तहमा उठेका स(साना टिप्पणीको पनि प्रत्युत्तर दिने ओलीमा लोकप्रियताको अभूतपूर्व लोभ देखिन्छ ।