मन्त्री पुनद्वारा आफूले पढेको विद्यालयलाई पाँच लाख सहयोग

174

फागुन १३,
रोल्पा -ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि रु पाँच लाख सहयोग गर्नुभएको छ । रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले स्थापना गरेको रु एक करोडको अक्षयकोषका लागि मन्त्री पुनले सो रकम सहयोग गर्नुभएको हो । विसं २०४२ देखि आफूले माध्यमिक तहमा अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको उहाँले बताउनुभयो ।

छात्रवृत्तिले गरीब, जेहेन्दार द्वन्द्वपीडित र अपाङ्गता भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने मन्त्री पुनले विश्वास व्यक्त गर्नुभयो । जिल्लाको नमूना माविको थप विकास र स्तरवृद्धिका लागि पूर्वविद्यार्थीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले विद्यालयलाई देशकै नमूना बनाउन आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षाका लागि अझै पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको आँैल्याउँदै मन्त्री पुनले जिल्लाभित्रै गुणस्तरीय प्राविधिक शिक्षालयको स्थापना गर्न आफू लागिपरेको उल्लेख गर्नुभयो ।-रासस