नागरिक दैनिक /बालकृष्ण अधिकारी
फागुन १३, काठमाडौं । नेता रामचन्द्र पौडेलसहित १२ नेताको असहमति हुँदाहुँदै पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिबाट पारित पाँच प्रस्ताव बहुमतबाट पारित गरेको छ। महासमिति बैठकका सुझाव समेटेर विधान, राजनीतिक, सांगठनिक, आर्थिकसहितका प्रस्ताव केन्द्रीय समितिको आइतबारको बैठकले बहुमतका आधारमा पारित गरेको हो। केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले महासमिति बैठकमा पेस भएका प्रस्ताव केन्द्रीय समितिले बहुमतबाट पारित गरेको जानकारी दिए। ‘केही नेताले विधानका केही बुँदा संशोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो,’ घिमिरेले नागरिकसँग भने, ‘तर केन्द्रीय समितिले सबै प्रस्ताव बहुमतबाट पारित गरेको छ। पारित सबै प्रस्ताव अब कार्यान्वयनमा जान्छन्।’