फागुन १२,
काठमाडौं – सरकारले हात्तीपाइले रोगको जोखिममा रहेका १५ जिल्लाका ७८ लाख भन्दा बढी मानिसलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १५ देखि पाचँथर, इलाम, झापा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १५ जिल्लाका ७८ लाख ४९ हजारलाई औषधि खुवाउने लक्ष्य लिएको छ। मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार औषधि वितरण कार्यक्रमका लागि ६ हजार २ सय ५ जना स्वास्थ्यकर्मी परिचालन हुनेछन्।
सरकारले यस वर्षको कार्यक्रमलाई २० करोड ६० लाख ७० हजार रकम विनियोजन गरेको महाशाखाका निर्देशक डा विवेक कुमार लालले बताए। उनले भने ‘आम औषधि सेवन, बिरामी खोजपड्ताल र हाईड्रोशिल सर्जरीको लागि रकम छुट्याईएको हो।’ उनले देशभरका ३४ अस्पतालमा ४ हजार १ सय ७० जनाको दरले हाईड्रोशिल सर्जरीको लागि बजेट छुट्याईएको छ भने अहिले सम्म ६ हजार तीन सय २६ जना हाइड्रोशिलका बिरामीको निःशुल्क शल्यक्रिया भैसकेको बताए। हात्तीपाइले रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यसबाट बच्ने एक मात्रै विकल्प भनेको सुरुको अवस्थाबाटै औषधि सेवन गर्नुहो। हातीपाइले रोग विरुद्धको औषधि ६ वर्षसम्म लगातार खाएमा यो रोग नलाग्ने चिकित्सकहरु बताउँछन्। सरकारले सन् २००३ देखि यस रोग विरुद्धको औषधि वितरण गर्न सुरु गरेको हो।
सरकारले हात्तीपाइले रोग सन् २०२० सम्ममा एक प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। हात्तीपाइले रोगको जोखिममा रहेका देशहरुबाट हात्तीपाइले रोग निवारण गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार नेपालले पनि सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिवद्धता जनाएको छ। हातीपाईले रोगको औषधी गर्भवती महिला, सिकिस्त बिरामी, मुटु रोगी, क्यान्सरका बिरामी, मृगौला रोगी, छारे रोग भएका, दुई वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिकालाई खुवाउनु नहुने चिकित्सकहरुको सल्लाह छ। -स्वास्थ्य खबर